Logo

३० चैत,वीरगञ्ज । नेपाली मुस्लिम समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसंग जोडिएर अनर्गल प्रचार गरेको भन्दै मुस्लिम समाजले पर्साले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायमाथि अघात पु¥याउने अनर्गल प्रचार गरेको भन्दै ज्ञापन पत्रमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ, ज्ञापन पत्रमा लेखिएको छ, ‘निजको समाचारले नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको छ । त्यसकारण ठोस कदम चालियोस ।’

सामाजिक सञ्जालमा मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर मोहम्मदको चरित्र हत्या गर्नेलाई आवश्यक कारवाही गर्न गृहमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग भएको छ । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न, तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको हो ।

नेपाली मुस्लिम समाज पर्साकोतर्फबाट जफर अंसारी, आबिद हुसेन, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरीसहितकाले ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मुस्लिम समुदायलाई बुझाएको ज्ञापनप्रति प्रशासन गम्भीर रहेको जनाए ।

थप कारबाहीको लागि ज्ञापनपत्र आजै गृह मन्त्रालयमा पठाइदिने प्रजिअ भुसालले प्रतिबद्धता गरे ।


सम्बन्धित समाचार