Logo

५ बैशाख, काठमाडौं । खुला सीमाना र राज्यको गलत नीतिका कारण बार्षिक २० हजार किलो काँचो सुन अवैध मार्ग भएर नेपाल भित्रिने गरेको छ । तस्करीको कारण राज्यलाई बार्षिक ३४ अर्ब राजश्व नोक्सान हुदै आएको छ । सुनमा १५ प्रतिशत भंसार राजश्व लाग्ने गरेको छ ।

भारत लगायत तेश्रो मूलुकबाट बार्षिक ३ हजार किलो सुनका तयारी गहना नेपाली बजारमा कारोवार हुनेगरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैंकले सुन आयातमा नियन्त्रण गर्दै “क” श्रेष्णीका बाणिज्य बैंकहरुलाई दैनिक २० किलो सम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । सुन व्यवसायी संघ र महासंघको सिफारिसमा व्यापारीले तोकिएका बाणिज्य बैंकबाट सुन खरिद गर्नुपर्ने राष्ट्र बैंकले जारी गरेको सुन खरिद तथा विक्री वितरण सम्वन्धि कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंकको नियन्त्रणले नेपाली बजारमा पयाप्त सुन पाँउन नसक्दा अवैध मार्ग भएर भित्रिएको सुन किन्नु परेको गुनासो व्यवसायीहरुको छ । नेपाली बजारमा बार्षिक १५ हजार किलो सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाई छ ।

काठमाडौं उपत्यकामा दैनिक ३० देखि ३५ केजी सुनका गहनाको कारोवार हुनेगरेको शाक्यले बताए । बैंकले दिएको सुनले मात्र बजार थेग्न सकिदैन, शाक्यले भने “अवैध मार्ग भएर आएको सुन नलिने हो भने व्यवसाय चलाउन मुस्किल हुन्छ ।” व्यवसायीहरुको भनाई अनुसार नेपाली बजारमा बार्षिक १५ देखि १८ हजार किलो काँचो सुन र तयारी गहनाको कारोवार हुन्छ ।

राष्ट्र बैंकले तोकेकै मापदण्ड अनुसार दैनिक २० किलो काँचो सुन बैंकले आयात गर्न पाउँने छ । यसरी हेर्दा बार्षिक ७ हजार ३ सय केजी सुन बैधानी मार्ग भएर नेपाल भित्रिन सक्छ । तर भंसार विभागको तथ्यांक हेर्ने हो भने गत आर्थिक बर्षमा जम्मा २ हजार ९ सय १७ केजी सुन मात्र बाणिज्य बैंकहरुले आयात गरेको देखिन्छ ।

भंसार विभागको तथ्यांक हेर्ने हो भने आर्थिक बर्ष २०७८/०७९ मा ५ हजार ७३ किलो सुन नेपाल भित्रिएको छ । त्यसैगरी आर्थिक बर्ष २०७७/०७८ मा ३ हजार ९२५ केजी सुन आयात भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा २ हजार ४५० किलो सुन र आर्थिक बर्ष २०७५/०७६ मा ७ हजार ४९३ किलो सुन बैधानिक मार्ग भएर आयात भएको देखिन्छ ।

भंसारबाट बैधानीक रुपमा आएको सुनले नेपाली बजारलाई तीन महिना पनि थेग्न नसक्ने देखिन्छ । बजारको माग अनुसार सरकारले सुन उपलब्ध गराउन नसक्दा नेपाली बजारमा खपत हुने सुन मध्ये करिव ७० प्रतिशत अवैध मार्ग भएर आएको सुनले बजार चलायमान हुने गरेको व्यवसायीहरुको भनाई छ ।

सुनचाँदी व्यवसायीहरुका अनुसार नेपाली बजारमा बार्षिक १२ हजार किलो बरावरको तयारी गहनाको कारोवार हुनेगरेको छ । नेपालमा अत्याधुनिक गहना बनाउने मेशिन र काराखाना नभएकोले झण्डै ५ हजार किलो सुनका तयारी गहना भारत लगायत तेश्रो मुलुकबाट अवैध रुपमा नेपाल भित्रिने गरेको छ । बार्षिक ३ देखि ५ हजार किलो सम्मको काँचो सुन उपभोक्ताहरुले नै खरिद गर्ने गरेको व्यवसायीहरुको भनाई छ ।

सुन व्यवसायीहरुको भनाई अनुसार बार्षिक २ देखि ३ हजार किलो बरावरको पुराना गहनाहरु बजारमा विक्रीको लागि उपभोक्ताले लिएर आउने गरेको पाइन्छ । नगद आवश्यकता पर्ने र सुनको बजार भाउ हेरेर उपभोक्ताले गहना विक्री गर्न आउने गरेको न्यूरोड स्थित जयमाता दी गोल्ड प्यालेसका संचालक पवन कुमार घरानीयाले बताए ।

राज्यलाई बार्षिक ३४ अर्ब राजश्व नोक्सान

नेपालमा सुनचाँदी व्यवसायी संघ र महासंघमा आवद्ध व्यवसायीहरुको भनाई अनुसार बार्षिक करिव २० हजार किलो काँचो सुन चीनसँग जोडिएका विभिन्न नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर अवैध रुपमा नेपाल भित्रिने गरेको छ । यसरी भित्रिएको सुन मध्ये बढीमा ३० प्रतिशत सुन नेपाली बजारमा खपत हुन्छ ।

बैधानीक मार्ग भएर “क” श्रेष्णीका बाणिज्य बैंक बाहेक अरु कुनै व्यवसायी फर्म वा कम्पनीले सुन आयात गर्न पाउँदैन । बैधानीक मार्ग भएर आउँदा १५ प्रतिशत भंसार शुल्क लाग्ने गर्छ । सुनको अन्तराष्ट्रिय मूल्य हेर्ने हो भने १ किलो सुनको बजार भाउँ १ करोड १५ लाखको हाराहारी पर्न जान्छ । यसरी हेर्दा २० हजार किलो सुन अवैध मार्गभएर आउँदा राज्यलाई करिव ३४ अर्ब ५० करोड राजश्व नोक्सान हुने देखिन्छ ।

विदेशबाट आउने व्यक्तिले प्रति व्यक्ति २५ ग्राम सम्म सुन ल्याउदा कुनै भंसार लाग्दैन । भारतबाट बिवाह गरेर ल्याएको अवस्थामा तयारी गहनामा भंसार नलिने नीति छ । सुनको अवैध कारोवारमा लागेका व्यवसायीहरुले यिनै नीतिलाई टेकेर विदेशमा काम गरेर फर्कने कामदारलाई भरियाको रुपमा प्रयोग गरेर सुन ल्याउने गरेको स्रोतको भनाई छ ।

भारतसँगको खुला सीमानाको कारण सुनको तयारी गहना अवैध रुपमा नेपाल भित्रिने गरेको दावी व्यवसायीहरुको छ । विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको नाका प्रयोगगरी तस्करहरुले गुणस्तरहिन तयारी गहना अवैध रुपमा नेपाल भित्राउने गरेका छन् । काँचो सुन भारत पठाउने र भारतबाट अत्याधुनिक गहना नेपाल ल्याउने गिरोह अहिले पनि सक्रिय रहेको स्रोतको दावी छ ।

स्रोतका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवन कुमार सोमानी र दिपक मुद्राले विराटनगरको नाका प्रयोग गरेर काँचो सुन भारत पठाउने र भारतको कोलकाताबाट तयारी गहना नेपाल भित्राउने धन्दामा लागेका छन् । कोलकाताबाट अत्याधुनिक डिजाइनका गहनाको नाउँमा गुणस्तरहिन गहना आउने गरेको व्यवसायीहरुको भनाई छ ।

बाणिज्य बैंकको ५० प्रतिशत सुन भारत तस्करी

बाणिज्य बैंकले आयात गरेको सुन पनि झण्डै ५० प्रतिशत सुन एक दर्जन व्यवसायीको नियन्त्रणमा रहन्छ । काठमाडौंमा होलसेल भनेर खोलिएका केही कम्पनीहरुले कोटा प्रणालीमा सिन्डिकेट खडा गरेर सुन कब्जा गर्दै आएको व्यवसायीहरुको गुनासो छ । उनीहरुले उक्त सुन अवैध मार्ग भएर भारत तर्फ तस्करी गर्दै आएको न्यूरोडका एक व्यवसायीले बताए ।

थोक विक्रेताको रुपमा कम्पनी वा र्फम खोलेर देशभर शाखाका नाउँमा कोटाको सुन लिने गरेको गुनासो साना व्यवसायीहरुको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सुन विक्री वितरण सम्वन्धि कार्यविधिले सुन व्यवसायी संघ वा महासंघको सिफारिसमा तोकिएको बाणिज्य बैंकबाट सुन खरिद गर्न पाउँने व्यवस्था गरेको छ ।

कार्यविधिमा भएको व्यवस्था विपरित एउटै कम्पनी वा एकाघर परिवारका सदस्यको नाउँमा खोलेका कम्पनीहरु सुन वितरण गर्ने, सवै संघ र महासंघमा आवद्धता गराई सुनको कोटा दुरुपयोग गर्नेमा नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष निर्मलज्योति तुलाधर, पवन कुमार अग्रवाल (धरानीया), नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी(मारवाडी), उपाध्यक्ष शिवकुमार सरार्फ, सदस्य दिपक मुद्राको नाउँमा चर्चामा छ ।

राष्ट्र बैंकले जारी गरेको कार्यविधिमा कुनै एउटा व्यवसायी फर्म वा कम्पनी कुनै एउटा संघ वा महासंघमा मात्र आवद्धता हुने पाउँने व्यवस्था छ । त्यसैगरी बाणिज्य बैंकबाट सुन उठाउने अवधि १५ दिन भित्र तोकिएको हुन्छ । उक्त अवधिमा तोकिएको व्यवसायी फर्म वा कम्पनीले सुन नउठाएमा सम्वन्धित बैंकले खुल्ला बजारमा सुन विक्री गर्न पाउँने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिमा भएको यहीँ व्यवस्थाको दुरुपयोग गर्दै निर्मलज्योति तुलाधर, पवन कुमार सोमानी, पवन कुमार अग्रवाल (धरानीया), दिपक मुद्रा, माणिक रत्न शाक्य, शिवकुमार सरार्फ लगायतका व्यवसायीले बाणिज्य बैंकको टेजरीहेडसँग मिलेमतोमा उक्त सुन खरिद गर्नेगरेको आरोप खुद्रा व्यवसायीहरुको छ ।

बैकको कोटा दुरुपयोगगरी खरिद गरेको सुन अवैध मार्ग भएर भारत तस्करी हुने गरेको दावी व्यवसायीहरुको छ । यता सुनको कारोवारमा लागेका पवन कुमार सोमानीले कानून अनुसार आफूले बैंकबाट सुन उठाउने गरेको बताए । आफूले विक्री गरेको सुन कहाँ जान्छ भन्ने कुराको ठेक्का आफूले नलिने उनको भनाई थियो ।

यता निमर्लज्योति तुलाधरले पनि कम्पनीले खरिद गरेको सुन नेपालका व्यवसायीहरुलाई विक्री गरेको बताए । आफूले विक्री गरेको सुन कुनै व्यवसायीले तस्करी गर्छ भने त्यसमा आफू भागीदार नभएको तुलाधरको दावी छ ।

यता नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुन व्यवसायीलाई आवश्यक पर्ने जती सुन राज्यले उपलब्ध गराउनु पर्ने बताए । राज्यले सुनको सहज व्यवस्था नगर्दा बजारमा चोरी तस्करी बढेको उनको भनाई ।

राष्ट्र बैंकको भूमिका शंकास्पद

सुनचाँदीको अवैध कारोवारमा नेपाल राष्ट्र बैंकको भूमिका शंकास्पद रहेको व्यवसायीहरुको आरोप छ । अवैध मार्गबाट सुनको कारोवार बढेको सुचना हुदाँपनि सुनमा कोटा लगाएर राज्यलाई अर्बौ रुपियाँ राजश्व नोक्सान गराउने काम राष्ट्र बैंकले गरेको व्यवसायीको भनाई छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई संघ र महासंघको टोलीले भेटेर कोटा प्रणाली हटाउन माग गरेको महासंघका अध्यक्ष शाक्यले बताए । राष्ट्र बैंक समग्र व्यवसायीको हित भन्दापनि सिमित व्यापारीको फाइदाको लागि काम गर्दै आएको उनीहरुको आरोप छ ।

सुनको कोटा र कार्यविधि निर्माणमा सुनमा सिन्डिकेट लगाउने विषयमा गभर्नर अधिकारी बढी जिम्मेवार रहेको व्यवसायीहरुको बुझाई छ । उनीहरुले केही व्यवसायीको हितमा गभर्नरले काम गरेको आरोप लगाएका छन् ।


सम्बन्धित समाचार