Logo

५ वैशाख,सेढवा। छिमेकी राष्ट्र भारत बिहारको पश्चिम चम्पारण जिल्लाको गौनाहा प्रखण्डको जमुनिया पञ्चायतस्थित मेला सुरु भएको छ । ऐतिहासिक मन्दिर आदिशक्ति सहोदरा माई परिसरमा १० दिनको मेला सुरु भएको हो ।

देवाढ गाँउस्थित उक्त मदिरमा प्रत्येक वर्ष रामनवमी अर्थात चैत नवमीको अवसरमा मेला लाग्ने गरेको छ । मेलामा माँ सहोदराको पहिलो पूजा पाठ तथा बली दिने कार्य नेपाली परिवारले गर्ने चलन छ ।
सोही अवसरमा पहिलो पूजापाठ तथा बलि चढाउने पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नं ५ देउरियाका दहित परिवारका सदस्यसमेत रहेका महादेव दहितले बताए ।

जेष्ठताका आधारमा यो परिवारमा क्रमशः जगन दहित, शिव दहित, शकर दहित, पलट दहित र अशोक दहितले पूजा गर्ने उनले जनाए ।
यो परिवारका अधिकांश सदस्यहरु मंगलवार नै मन्दिरमा पुगेर पाठपूजा गरी आज बलिदान गरेपछि आम सर्वसाधारणका लागि पाठपूजा तथा बलिदान शुरु भएको महादेव दहितको भनाइ छ ।

आज बिहानदेखि मन्दिरमा भाकल अनुसार बोका, साह, कुखुरा लगायतका जीवहरुको बलि चढाउने कार्य सुरु भएको छ ।

ऐतिहासिक यस आदिशक्ति सहोदरा माई मन्दिरको उत्पत्ति आदिवासी थारु समाजको प्राचीन इतिहाससंग जोडिएकाले यस मन्दिरमा प्राचीन कालदेखि नै थारु पूजारी बस्ने गरेका जमुनियाका अमित कुमार चौधरीले बताए ।
मन्दिर दर्शन गर्नकै लागि नेपालका पर्सा, बारा, रौटहठ तथा चितवन जिल्लाका हजारौ थारु तथा गैर थारु समूदायका नागरिकहरु आउने गरेका चौधरीले बताए ।


सम्बन्धित समाचार