Logo

६ वैशाख,वीरगञ्ज । जल्दै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकामा एक युवतीको शव बरामद भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा २२ वर्षीया युवतीको शव जलिरहेको अवस्थामा बरामद भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर २ कि प्रियंका महतो भएको प्रहरीले अनुमान गरेको छ । युवतीको शवसँगै घाइते अवस्थामा एक बालिका समेत फेला परेकी छिन् । उनको समेत उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी नायब उपरिक्षक डिएसपी रञ्जन अवाले भने, ‘युवतीको शव नजिकै करिब ६ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन्, उनको पनि उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।’

युवतीको शव जलेको कारण चिन्न सकिने हालतमा नभएको डीएसपी अवाले जनाए । तर स्थानीयको भनाईको आधारमा उनी महोत्तरीकी प्रियंका भएको भनेर सनाखत गरेको उनले बताए ।
घटनाकारे उनको आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र थप विवरण खुल्ने प्रहरी बताउँछ ।

युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनायो ।


सम्बन्धित समाचार