Logo

१० वैशाख, वीरगञ्ज । लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सात दिनभित्र जवाफ दिन भनेको छ ।

साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई पनि सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन आयोगको निर्देशन छ । आयोगमा दर्ता कायम रहेका एक सय १८ दलमध्ये आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देशन गरिएको छ ।

लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने दलमा आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक रहेका छन् । दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दलमा गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी र साझा पार्टी नेपाल रहेका छन् ।

समयमा लेखापरीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, संघीय विकासवादी पार्टी, नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेका छन् ।

नेपाली कांग्रेस बिपीले तोकिएको समय सकिएपछि लेखापरीक्षण प्रतिवेदन बुझाएकामा आयोगले त्यसको कारणसहित जवाफ माग गरेको छ ।


सम्बन्धित समाचार