Logo

१० वैशाख,वीरगञ्ज । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने भएको छ । पार्टीका महासचिव चन्द्रभूषण साहले ईलाम–२ बाट मुढा चुनाव चिन्ह लिई पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले सहयोग गर्न आम जनता पार्टीलाई पत्राचार गरेपछि आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव साहले आज एक विज्ञप्ति जारी गरी अहिलेको उपनिर्वाचन परिणामले संसदीय अंकगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित भएको जनाउदै डकेन्द्र सिंह थेगिमको पत्रको विषयलाई गम्भीरतापूर्वक लिन आम मतदाताहरुलाई आग्रह गरिएको छ ।

अहिले ईलाम– २ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो ढोंग÷नाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादी बिचको लडाई रहेको आम जनता पार्टीको बुझाई छ । अहिलेको लुटकारी दलतन्त्र (दलीय शासन) र दलभित्रका केहि मुठ्ठीभर भ्रष्ट, बेईमान एवं धोखेबाज नेताहरुको अपराधले गर्दा नै देश अहिले संकटग्रस्त अवस्थाबाट गुज्रीरहेको सन्दर्भमा यसको ठोस एवं दीर्घकालिक निकासका लागि आम नागरिकको सर्वोच्चता (जनताको शासन) स्थापित गर्न गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, ईमानदार एवं प्रतिबद्ध नेतृत्वको छनौट जरूरी रहेको आम जनता पार्टीको धारणा रहेको जनाएको छ ।

असहाय, अबला, आवाज विहीनहरुको बुलन्द आवाज बनी सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धिका साथ अधिकार एवं पहिचानका मुद्दाहरुलाई संस्थागत गराई देशलाई अग्रगमनको पथमा निरन्तर अगाडि बढाउने सबालमा आम जनता पार्टी र पहिचान पक्षधरहरुबीच भविष्यमा पनि थप मजबूत सहकार्यहरु हुने विश्वास सहित आम जनताका साझा उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई पूर्ण साथ, सहयोग र समर्थन रहेको जनाएको छ ।


सम्बन्धित समाचार