Logo

अपहरणमा परेका प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मधेस प्रदेशका प्रमुख लाल बहादुर थापा

११ बैशाख, वीरगञ्ज । जनकपुर स्थित एक जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त गरेको छ । अपहरणमा संलग्न ५ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर जिल्ला कटहरी नगरपालिका वडा नं ं१० स्थायी घरभई हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मधेस प्रदेश कार्यालयका प्रमुख लाल बहादुर थापा लेनदेनको बिषयमा दिउँसो धनुषाबाट अपहरणमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार अपहरणमा परेका थापालाई प्रहरीले मंगलबार राती ८ बजे सप्तरीबाट अपहरण मुक्त गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख थापा धनुषाको मिथिला नगरपालिका वडा नं. ६ बाट अपहरणमा परेका थिए । उनलाई अपहरणकारीले गाडीमा राखेर सप्तरी हुर्दै भारत तर्फ लैजान खोजेको अबस्थामा फेला परेको थियो ।

प्रहरी उपरिक्षक तिवारीका अनुसार अपहरणमा संलग्न व्यक्तिहरुमा सप्तरी सप्तकोसी बस्ने जय कुमार तमाड, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिराहा गोलबजार नगरपालिका वडा नं. ६ का शंकर लामा र सोही नगरपालिका वडा नंं २ का अरुण कुमार लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इन्स्योरेन्स कम्पनीमा कार्यरत थापाले विभिन्न व्यक्तिसँग लिएको रकम फिर्ता नगरेको आरोपमा ५ जनाको समूहमा आएका व्यक्तिहरुले अपहरण गरेको प्रहरीको भनाई छ । अपहरणमा परेका थापा सहित अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको प्रहरी प्रमुख तिवारीले बताए ।

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार