१४ वैशाख,वीरगञ्ज । सरकारले बैशाख १६ गते (आइतबार) देखि हात्तीपाइले रोग नियन्त्रणका लागि आम औषधी सेवन अभियान सुरु गर्दैछ । सो अभियान अन्र्तगत सात जिल्लामा औषधी खुवाइदैछ ।
मधेश प्रदेशका ४ जिल्लासहित अन्य सात जिल्लाहरुमा अभियान सञ्चालन गरिने जनाइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो ।
उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । उनका अनुसार ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ ।
चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ । बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताउँदै महत्तोले समुदाय स्तरमा संक्रमण रोकिएको वा नरोकिएको भन्ने विषयमा १० महिनापछि अध्ययन हुने बताए । अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ ।
सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००३ देखि ती औषधि खुवाइरहेको छ भने सन् २०३० सम्ममा नेपालबाट पूर्ण रुपमा निवारण गर्ने लक्ष्य छ ।