Logo

१५ वैशाख, वीरगञ्ज । इलाम र बझाङमा आज विहान ७ बजे मतदान सुरू भएको छ। ईलाममा प्रतिनिधिसभाको १ एक सिट र बझाङको प्रदेश सभा सदस्यका १ सिटको लागी उपनिर्वाचन हुँदैछ ।

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा उपचुनावको लागि मतदान आज विहान ७ बजे देखि शुरु भएको छ । निर्वाचन आयोगले मतदातालाई निर्धक्क भएर मताधिकारको प्रयोग गर्न आग्रह गरेको छ ।आज बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न मतदातालाई आयोगले आग्रह गरेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ

यस्तै इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले सबै मतदान केन्द्रहरूमा मतदान सुरू भएको जानकारी दिए। ‘तोकिएकै समयमा सबै केन्द्रहरूमा मतदान शान्तिपूर्ण तरिकाले सुरू भएको छ,’ सहायक निर्वाचन अधिकृत श्रेष्ठले भने।

त्यस्तै बझाङमा पनि मतदान सुरू भइसकेको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। ‘केही ठाउँबाट सुरू भइसकेको जानकारी आएको छ। केही ठाउँमा मतदान कार्यक्रम ढिलाई भएको उनको भनाई छ ।

 


सम्बन्धित समाचार