१५ वैशाख,सेढवा । स्थानीय तहमा खरिद गरिएका सवारीसाधनहरुको दुरुपयोग भइरहेको खुलासा भएको छ । देशैभर कार्यालय प्रयोजन र सार्वजनिक कार्य गर्न कर्मचारीहरुका लागि सवारीसाधन उपलब्ध गराइएको हुन्छ । तर पर्साका स्थानीय तहका कर्मचारीहरुले भने यस्ता सवारीसाधनको अहिलले व्यापक दुरुपयोग गरिरहेको खुलासा भएको हो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सेतो प्लेटका सरकारी सवारी साधन बजारमा घरायसी सामान किनमेल गर्न, घुमफिर गर्न, वनभोज खानका साथै होटेल र रेस्टुराँसम्म पनि लैजाने गरेको पाइएको छ । स्थानीय तहले खरिद गरेका सरकारी सवारी साधन, जनप्रतिनिधीका आफन्तजन तथा नातेदार समेतको निजि कामका लागि प्रयोग गर्दै आइरहेका छन् । यस्तै सार्वजनिक विदाका दिन समेत सरकारी सवारी जनप्रतिनिधि र कर्मचारीले निजी कामका लागि प्रयोग गर्ने गरेको पाइएको छ ।
तोकिएको कार्य बाहेक जिल्ला बाहिर वा बिदाको दिन जनप्रतिनिधी र कर्मचारीले सवारी प्रयोग गर्न जिल्ला प्रशासन कार्यलयबाट स्वीकृत लिनुपर्ने सरकारी सवारी कार्यविधिमा उल्लेख छ । उक्त कार्यविधिमा स्थानीय सरकारले खरीद गरेका वा कुनै दाताबाट प्राप्त भएका सवारी साधनहरु प्रमुख कार्यकारी वा तोकिएको व्यक्तिले मात्र सञ्चालन गर्न पाउने उल्लेख छ ।
कार्यालय प्रयोजनका काम बाहेक सवारीसधानको साँचो, कार्यालयमै राख्नुपर्ने नियममा भनिएको छ । यस्तै सवारीसाधन प्रयोग गर्ने जनप्रतिनिधि वा कर्मचारीले इन्धनको विवरण देखिने गरी लगबूक प्रमाणित गरी पेश गर्ने, गाडी चलेको किलोमिटर स्पष्ट खुल्ने गरी प्रमाणित भएपछि मात्र दोस्रो नम्बरको कुपन दिनुपर्ने, आवको शुरूबाट नै कूपन नम्बरिङ गरेर मात्र शुरू गर्नुपर्ने हुन्छ । तर पर्सामा यी नियमहरुको धज्जी उडाउदै जनप्रतिनिधि र कर्मचारीले सरकारी गाडीको दुरुपयोग गरिरहेका छन् ।
पर्सा जिल्लाका १० गाउँपालिकाले मात्रै वर्षेनी ३० लाख रुपैयाँभन्दा बढीको इन्धन खपत गर्ने गरेको पाइएको छ । स्थानीय तहमा खरिद गरिएका सरकारी सवारीसाधनको व्यपाक दुरुपयोग भइरहदा पनि सम्बन्धित निकाय भने मौन देखिन्छ ।
सवारीसाधनको खुलेयाम दुरुपयोग हुँदासमेत खोजबिन गर्ने निकाय नभएपछि अहिले लापरवाही बढेको जानकारहरु बताउँछन् । महंगो सवारी खरिद गर्ने, आवश्यकताभन्दा होडबाजीमा सवारीसाधन खरीद गर्ने र मर्मत सम्भारको नाममा लाखौं रुपैँयाको भ्रष्टाचार हुने गरेको बताइएको छ ।