Logo

१६ बैशाख, जनकपुर । मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकिएका विनाविभागीय मन्त्री भरतप्रसाद साहले उक्त मन्त्रालय आफूले स्वीकार नगर्ने बताएका छन् । पूर्व सहमती अनुसार मुख्यमन्त्रीले इमान्दारीता नदेखाएको भन्दै साहले वन मन्त्रालयलेको जिम्मेवारीमा नजाने अडान राखेका हुन ।

अर्थ मन्त्रालयको दावी गरेका साहलाई जानकारी समेत नदिई मुख्यमन्त्री सरोज कुमार यादवले आइतवार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले आइतवार सूचना प्रकाशित गरेको छ । साहले आफू पनि प्रदेश प्रमुखको कार्यालयबाट प्रकाशित सूचनाबाट नै जानकारी पाएको बताए ।

‘मैले पनि त्यही सूचनाबाटै जानकारी पाएँ । मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्छ । वन मन्त्रालय म स्वीकार गर्दिनँ ।’ उनले भने ।

बैशाख ४ गते विश्वासको मत लिँदा मुख्यमन्त्री सरोज यादव र माओवादी बिच मन्त्रालय बाँडफाँडको लागि अर्थ मन्त्रालय दिने सहमती भएको थियो । मुख्यमन्त्री यादवले अर्थ मन्त्रालयसहित माओवादी केन्द्रलाई दुईटा मन्त्रालय दिने सहमति पनि गरेका थिए, विनाविभागीय मन्त्री साहले भने ।

मधेस प्रदेशमा माओवादीले दुई वटा मन्त्रालय पाएको थियो । त्यसमध्ये युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् । भरत साह अर्थ मन्त्रालयमा अडान कायमै राखेकोले आइतवार मुख्यमन्त्रीले गरेको कार्यविभाजन अस्वीकार गर्ने बताए ।

त्यसअघि माओवादी केन्द्रका सुनिता यादव उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिइन् । उनलाई हटाएर युवराज भट्टराईलाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

माओवादी मधेस प्रदेश संसदीय दलका नेता तथा विनाविभागीय मन्त्री भरत साहले माओवादीलाई अर्थ मन्त्रालयसहित दुईटा मन्त्रालय दिने मौखिक सहमति भएको र सोही सहमतिका आधारमा आफूहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको उनले दाबी गरे ।

उनले वन मन्त्रालयको जिम्मेवारी दिएको विषयमा आफूलाई जानकारी नरहेको बताए । वन मन्त्रालयको जिम्मेवारी दिने विषयमा मुख्यमन्त्री यादवले आफूसँग कुनै सल्लाह नगरेको उनले बताए ।


सम्बन्धित समाचार