Logo

१७ बैशाख, वीरगञ्ज । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको निर्देशन विपरित मालपोत कार्यालय पर्सामा बिचौलियाको विगविगीका कारण सेवाग्राही मर्कामा परेका छन् ।

मालपोत कार्यालय भित्र रहेको सरकारी अड्डालाई कब्जामा लिएका लेखापढी व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले बिचौलियाको भूमिका खेलेपछि सेवाग्राहीले अनावश्यक खर्च र हैरानी भोग्नु परेको छ । सेवाग्राहीसँग बिचौलियाहरुले न्यूनतम एक हजार देखि १० हजार सम्म रकम असूल्ने गरेको स्रोतको भनाई छ ।

देशभरका मालपोत कार्यालय हाताभित्रबाट विस्थापित भएका लेखापढी व्यवसायीहरु मालपोत कार्यालय पर्सामा भने सरकारी भवन कब्जामा लिएर व्यवसायीक कार्यालय संचालन गरेका छन् । लेखापढी व्यवसायमा संलग्न अधिकांश व्यवसायी बिचौलियाको रुपमा भूमिका निर्वाह गर्दै आएको एक सेवाग्राहीले बताए ।

मालपोत कार्यालय पर्सामा सेवाग्राहीसँग अनावश्यक रकम माग्ने गरेको घटना बढेपछि अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा दजर्नौ उजुरी परेका छन् । अख्तियार अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचारगरी मालपोत कार्यालय हाताभित्र हुने बिचौलियाको प्रवेश र कारोवार रोक्न निर्देशन दिएको थियो ।

अख्तियारको पत्राचार पछि मधेसका ८ जिल्लाका मालपोत कार्यालयलाई भूमि व्यवस्थापन तथा अभिलेख विभागले कार्यालय हाताभित्र रहेका भू–सेवा, लेखनदास र लेखापढी व्यवसायीलाई बाहिर राख्न र उनीहरुको काम कार्वाहीलाई निगरानी गर्न दिएको निर्देशन कार्यान्वयन भएको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघ २१ गते र चैत १२ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पत्राचार गर्दै मालपोत कार्यालयमा बिचौलियाको कारण सेवाग्राही मर्कामा परेको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रलाई आधार बनउदै भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८० चैत १८ गते मधेस प्रदेशका सवै मालपोत कार्यालयलाई बिचौलिया मार्फत हुने धन्दा रोक्न निर्देशन दिएपनि मालपोत कार्यालय पर्सामा बिचौलियाको विगविगी बढेको छ ।

विभागले जारी गरेको निर्देशन पत्रमा भू सेवा, लेखनदास र लेखापढी लगायतको नाममा बिचौलिया मार्फत कर्मचारीले सेवाग्राहीसँग अतिरिक्त रकम लिने गरेको तथा संचालनमा रहेका भू सेवा केन्द्रहरुले समेत सेवाग्राहीसँग अनाधिकृत रुपमा रकम असूल्ने गरेको भन्ने उजुरी विभागमा आउने गरेको उल्लेख गरिएको छ ।

विभागले कानूनको मान्य सिद्धान्त र निर्धारित समय सिमा भित्र सेवाग्राहीको माग अनुरुप कार्य सम्पादन गर्न र कार्यालय तथा कार्यालयको कार्यकक्षमा बिचौलियालाई प्रवेश निषेध गर्न निर्देश गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई अनुशासित बनाई जनगुनासो नआउने र सेवाग्राहीलाई सुशासनको प्रत्याभूत हुनेगरी सेवा प्रवाह गर्न विभागले मधेसका मालपोत कार्यालयहरुलाई पत्राचार गरेको छ ।

मालपोत कार्यालयमा अनुमति प्राप्त भू सेवा संचालन केन्द्रहरुले भू सेवा केन्द्र संचलान निर्देशिका २०७६ विपरित कार्य गरेको पाइएमा उनीहरुको भू सेवा संचालन सम्वन्धि अनुमति पत्र रद्द प्रकृया अगाडी बढाउन विभागले निर्देशन दिएपनि हाल सम्म मालपोत कार्यालयले तीनै बिचौलियालाई प्रयोग गरेर सेवाग्राहीसँग रकम असूल गरिरहेको स्रोतको भनाई छ ।

मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत डमरु प्रसाद निरौला समेत लेखापढी व्यवसायीसँगको मिलेमतोमा बिचौलियालाई कार्यालयमा प्रवेश गर्न दिएको गुनासो सेवाग्राहीहरुको छ । कार्यालय प्रमुख निरौलाले समेत बिचौलिया मार्फत सेवाग्राहीलाई दुख दिएको गुनासो ठोरी गाउँपालिकाबाट काम लिएर आएका एकजना सेवाग्राहीको छ ।

यता मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत डमरु निरौलाले आफू भर्खरै आएकोले धेरै कुरा बुझ्न बाँकी रहेको बताए । लेखापढी ब्यवसायीलाई व्यवस्थित गर्ने र बिचौलिया हटाउने बिषयमा विभागसँग छलफल भइरहेको उनको भनाई थियो ।

लेखापढी व्यवसायी संघ पर्साका अध्यक्ष मदन पटेलले मालपोत कार्यालयका पूर्व कार्यालय प्रमुखले संघको नाममा अफिस उपलब्ध गराएकोले आफूहरुले हटाउन नसक्ने बताए । भू सेवा केन्द्रको इजाजत लिएकाहरुले बाहिरबाट काम गर्छन, पटेलले भने “यो त समितिको कार्यालय मात्र हो यहाँ कुनै बिचौलिया आउदैनन् ।”

मालपोत कार्यालयमा भवन अभावले कार्यालयलाई व्यवस्थित गर्न नसकिएको तर्क छ मालपोत प्रमुख निरौलाको । उनले कार्यालयबाट सेवाग्राहीलाई सजिलै काम गर्नेगरी बतावरण बनाउने तर्फ आफू लागेको बताए ।


सम्बन्धित समाचार