Logo

१७ बैशाख, वीरगञ्ज । कक्षा १२ को परिक्षामा सहभागी भएका एनआई कलेजका विद्यार्थीले नियोजित रुपमा हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

चिट चोर्न नपाएको बिषयलाई मानसिक यातनासँग जोडेर एनआई कलेजका संचालकले विद्यार्थीलाई प्रयोग गरेर नियोजित रुपमा क्याम्पस माथि आक्रमण गर्न लगाइएको हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले बताए ।

हरिखेतान बहुमुखी क्याम्पसले आज वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआई कलेजका संचालकले लगाएको आरोप कपोकल्पीत र निराधार भएको जनाएको हो । निमित्त क्याम्पस प्रमुख यादवले सिसि क्यामराको निगरानीमा परिक्षा दिन एनआईका विद्यार्थीलाई चुनौती दिएका छन् ।

आइतबार हरिखेतान क्याम्पसमा कक्षा १२ को परिक्षा दिएर बाहिर निस्कीएका विद्यार्थीलाई एनआई कलेजका संचालक र शिक्षकहरुले विद्यार्थीलाई उत्तेजित बनाउदै क्याम्पसका कक्षा कोठामा रहेका फर्निचर र बाहिर पार्किङमा राखिएका सवारी साधन तोडफोड गरिएको थियो ।

हरिखेतान क्याम्पसमा भएको घटनालाई स्थानीय प्रशासनले गम्भिर रुपमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए । परिक्षामा सहभागी भएका विद्यार्थी तोडफोडमा उत्रनु राम्रो बिषय होईन यसलाई स्थानीय प्रशासनले गम्भिर रुपमा लिएको छ, भुषालले भने ।

स्थानीय प्रशासनले घटनाको बारेमा छानवीन गरिरहेको र घटनामा संलग्न दोषीहरुको पहिचान गरी कानून अनुसार कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी भुषालले बताए । दोषीलाई कार्वाही र तोडफोड भएको सम्पत्तिको दोषी देखिएकाहरुसँग क्षतीपूर्तीको व्यवस्था गर्न लगाउने भुषालको भनाई छ ।

यता हरिखेतान बहुमुखी क्याम्पसले आफूहरुको निजी कलेजसँग प्रतिस्पर्धा नरहेको बताए । निजी कलेजको भन्दा न्यून शुल्कमा विद्यार्थीलाई पढाउने गरेको निमित्त क्याम्पस प्रमुख यादवले बताए ।

हरिखेतान क्याम्पसमा एनआई कलेजका विद्यार्थीको परिक्षा सेन्टर परेको र परिक्षा नियन्त्रण कार्यालयबाट आएका परिक्षा नियन्त्रकहरुको निगरानीमा परिक्षा भइरहेको निमित्त क्याम्पस प्रमुख यादवले बताए । तोडफोडको घटनामा संलग्नलाई कार्वाही र क्षतीपूर्तीको लागि कानूनी उपचार खोज्ने यादवले जानकारी दिए ।

परिक्षा सेन्टर सारियो

एनआई कलेजका विद्यार्थीहरुको परिक्षा सेन्टर दुईवटा सामुदायिक विद्यालयमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए । हरिखेतान क्याम्पस तोडफोडको घटनापछि रानीघाटमा रहेको रेल्वे मावि र आर्दशनगरमा रहेको पन्नालाल माध्यामिक विद्यालयमा परिक्षा केन्द्र राखिएको प्रजिअ भुषालले जानकारी दिए ।

कक्षा १२ को परिक्षा दिन अझै ३ वटा विषय बाकी रहेकोले परिक्षा सकिए लगत्तै स्थानीय प्रशासनले घटनामा संलग्न माथि कार्वाही शुरु गर्ने तयारी गरेको बताइएको छ ।


सम्बन्धित समाचार