Logo

१९ बैशाख, वीरगञ्ज । वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयले करिव ४७ करोड मूल्य बराबरको पोस्ता दाना र सुपारी लिलामको लागि पुन सूचना निकालेको छ ।

चौथो पटक सम्म सूचना जारी गरिएको लिलाममा कुनै फर्म वा व्यक्तिले रुचि नदेखाएपछि तोकिएको मालबस्तुको पुनःमूल्यांकन गरेर पाचौ पटक सूचना प्रकाशन गरेको सुक्खा बन्दरगाह भंसार कार्यालय वीरगञ्जले जनाएको छ ।

वीरगञ्जको सुक्खा बन्दरगाहमा विगत ५ बर्ष देखि वेवारिसे अवस्थामा रहेका कन्टेर भित्रको मालबस्तु प्रचलित बजार भाँउको दररेटमा लिलाम गर्न भंसार कार्यालयले २०८० फागुन १३ गते प्रथम पटक सूचना प्रकाशन गरेको थियो ।

करिव २६ करोडको पोस्ता दाना, २१ करोडको सुपारी लगायत हाडवेयर, विद्युतिय र अन्य सामान गरी करिव १ अर्व मूल्य बराबरको मालबस्तु लिलाम बिक्रीका लागि भंसार कार्यालयले सूचना प्रकाशन गरेको थियो । प्रथम पटकको सूचनामा औद्योगीक सिलाई मेसिन, कपडा र केही थान सिलाई मेशिन लगायत करिव ८० लाख मूल्य बराबरका सामान लिलाम भएको थियो ।

आयातकर्ताले पोस्ता दाना, सुपारी, लुब्रिकेन्ट, फिड सप्लिमेन्ट, सोयामिल, सुकमेल, मुसुरोको दाल, कालो मसुरोको दाना, वाथरुमका सामान, कम्प्युटर पाटर्स, कपडा, खेलौना, सिलाई मेशिन, प्लाष्टिकका दाना लगायत १३७ प्रकारका मालबस्तु ल्याएर लामो समय सम्म भन्सार जाँचपास नगरेपछि भंसार कार्यालयले लिलामीको सुचना निकालेको थियो ।

भंसार कार्यालयका अनुसारल १ लाख ८६ हजार ६०० किलो पोस्ता दाना र ३ लाख ४८ हजार ३४० किलो सुपारी वेवारिसे अवस्थामा कन्टेनरमा थन्किएको थियो । वीरगञ्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह भंसार कार्यालयका प्रमुख डा। रामप्रसाद मैनालीले विगत ५ बर्ष देखि ६० दिन सम्म ड्राइर्पोटमा वेवारिसे अवस्थामा रहेका मालबस्तु दावी गर्न आउन सूचना जारी गरेको तर कसैले दावी नगरेपछि लिलाम विक्रीका लागि टेन्डर प्रकाशन गरिएको बताए ।

भंसार कार्यालयले प्रचलित बजार मूल्यका आधारमा लिलाम विक्रीको सूचना प्रकाशन गरेकोमा कसैले सकार्न नआएपछि पुन मूल्यांकन गरेर सूचना सार्वजनिक गरिएको मैनालीको भनाई छ । भंसार कार्यालयले २०८० फागुन १३ र ३० गते, चैत १३ र २१ गतेगरी चौथो पटक सूचना प्रकाशन गरेको थियो ।

चौथो पटक पुन मूल्यांकन गरेर निकालिएको लिलाम विक्रीमा कालो मासको दाना, प्लाष्टिक दाना, कम्प्यूटर पाटर्स, वासिङ मेशिन, अट्टो पाटर्स ब्रेक प्याड, ट्वाइलेटमा प्रयोग हुने कम्वड र वेसीन, पिपि उल फाइवर गरी करिव ३ करोड १९ लाख ६० हजार मूल्य बराबरका सामान लिलाम विक्री भएको ड्राइर्पोट भंसार कार्यालयका सूचना अधिकृत सुशिल शर्माले बताए

अझै करिव १ अर्व २६ करोड मूल्य बराबरको मालबस्तु लिलाम विक्री हुन नसकेकोले पुन मूल्यांकन गरेर सोमबार लिलाम विक्रीको सूचना प्रकाशन गरिएको भंसार प्रमुख मैनाले जानकारी दिए । यसअघि बजार मूल्यका आधारमा मूल्यांकन गरिएकोले त्यसलाई केही घटाएर पुन पाँचौ पटक सूचना जारी गरिएको छ, मैनालीले भने ।

चौथो पटक सम्म निकालिएको सूचनाबाट राज्य कोषमा करिव ४ करोड राजश्व जम्मा भएको भंसार प्रमुख मैनालीले बताए । पोस्ता दाना  र सुपारी पुरानो र केही विग्रिएकोले तोकिएको मूल्यमा लिलाम लिन कुनै व्यापारी नआएको मैनालीको बुझाई छ । पुन मूल्यांकन समितिमा भंसार विभाग, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहवरमा मालबस्तुको मूल्यांकन हुने कानूनी व्यवस्था रहेको भंसार कार्यालयले जनाएको छ ।

आयातकर्ताले कुनै पनि वस्तु गोदाममा राखेको ६० दिनभित्र जाँचपास गरि नलगेमा भन्सार कार्यालयले त्यसलाई बरामद गरि लिलाम प्रक्रियाबाट बिक्री गर्नसक्ने कानुनी प्रावधान छ । त्यहीँ प्रावधानमा टेकेर भंसार कार्यालयले वेवारिसे अवस्थामा रहेका मालसामानको लिलाम विक्रीको सूचना निकालेको हो ।

भन्सार मूल्यांकन महँगो हुँदा लिलाम भएन

सुक्खा बन्दरगाह भन्सार कार्यालयले पोस्ता र सुपारी दुवैको न्यूनतम मूल्य महँगो बनाएर लिलामको सूचना प्रकाशित गरेको व्यवसायीको भनाइ छ ।

कार्यालयले प्रथम पटक सूचना निकाल्दा पोस्ता दानाको न्यूनतम मूल्य प्रति किलोग्राम १ हजार ९०१ रुपैयाँ ९० पैसा र सुपारीको ७९८ रुपैयाँ तोकेको छ । सूचनाअनुसार १ लाख ८६ हजार ६ सय किलो पोस्ता दानाको न्यूनतम मूल्य ३५ करोड ४८ लाख ९४ हजार ५४० रुपैयाँ र ३ लाख ४८ हजार ३४० किलोग्राम सुपारीको न्यूनतम मूल्य २७ करोड ७९ लाख ७५ हजार ३२० कायम गरिएको थियो ।

वीरगंजका ठुला आयातकर्तामध्ये एक विजयसिंह सेठियाले पोस्तादानाको न्यूनतम मूल्य महँगो भएको प्रतिक्रिया दिए । उनले लामो समय कन्टेनरमा थन्किएको माल विग्रीएको जस्तो देखिएको र त्यहीँ मालको मूल्यांकन समेत प्रचलित बजार दर भन्दा बढी राखिएकोले कसैले लिलाम विक्रीमा सहभागी हुन इच्छा जाहेर नगरेको बताए ।

उनले भने, ’भारतमा एक किलो पोस्ता दानाको मूल्य अहिले भारु ११ सय छ । यो भनेको १ हजार ७६० नेपाली रुपैयाँ हो । पोस्ता दाना आखिर भारत नै जाने हो भन्ने सबैलाई थाहा छँदैछ । त्यसैले १ हजार ९०१ रुपैयाँ ९० पैसाको दरमा कसैले पनि पोस्तादानामा उठाउलान् भन्ने मलाई लाग्दैन ।

त्यस्तै सुपारीको मूल्य पनि भारतीय बजारको तुलनामा धेरै भएको सेठियाले बताए । उनका अनुसार भारतमा अहिले सुपारीको मूल्य पटनामा ४ सयदेखि ४५० भारु छ । यो मूल्य भनेको ६४० देखि ७२० नेपाली रुपैयाँ हो । तर भन्सार कार्यालयले किलोको ७९८ रुपैयाँ कायम गरेको छ । त्यसैले यो मूल्यमा लिन कोही आउने सम्भावना छैन ।

पाँचौ पटकको सूचनामा भंसार कार्यालयले पोस्ता दाना र सुपारीको मूल्यांकन कम गरेको छ । २०८१ बैशाख १७ गते निकालेको लिलाम विक्री सम्वन्धि सूचनामा पोस्ता दाना प्रति किलो १ हजार ५२१ रुपियाँ ५० पैसा र सुपारी प्रति किलो ५ सय ९८ रुपियाँ ५० पैसा तोकेको छ । पछिल्लो पटक भंसार कार्यालयले निकालेको लिलाम विक्रीमा व्यवसायीहरुले खरिदका लागि सहभागीता जनाउन सक्ने एक व्यवसायीले बताए ।

पछिल्लो पटक निकालीएको सूचनामा पोस्ता दानाबाट २५ करोड ६५ लाख २४ हजार र सुपारीबाट २० करोड ८४ लाख ८१ हजार गरी करिव ४६ करोड ५० लाख रुपियाँ लिलाम विक्रीबाट सरकारलाई राजश्व आउन सक्ने भंसार कार्यालयले जनाएको छ ।

सरकारले सुपारी र पोस्ता दाना आयातमा प्रतिवन्ध लगाएको छ । पोस्ता दाना  र सुपारी भंसारमा लिलाम खरिद गरेका व्यापारीले भारत तर्फ अवैध मार्ग भएर बेच्नु पर्ने बाध्यता रहने एक व्यवसायीले बताए । पोस्ता दानाको नेपाली बजारमा खरिद विक्री छैन, यो भारत तर्फ बेच्नु पर्ने हुन्छ ती व्यवसायीले भने ।


सम्बन्धित समाचार