Logo

१९ वैशाख,वीरगञ्ज । मधेश प्रदेशमा चालु आर्थिक वर्ष १२ सय वटा आगलागीका घटनाहरु भएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि यहि बैशाख १५ गतेसम्म प्रदेशका ८ वटै जिल्लामा १ हजार १९९ वटा आगलागीका घटना भएका हुन् ।

आगलागीबाट प्रदेशमा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । साउनदेखि वैशाख १५ अर्थात् शनिबारसम्म मधेश प्रदेशका ८ जिल्लाका फरकफरक स्थानहरुमा भएको आगलागीका कारण २० जना मानिसले ज्यान गुमाएका छन् । भने १२० जना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट ८१ पक्की घर, ४८० कच्ची घर र २२७ वटा गोठहरु जलेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुभाष बोहोराले जनाए । विभिन्न स्थानहरुमा भएका आगलागीका कारण २०३ चौपाया मरेको र ११२ वटा चौपाया घाइते भएको प्रहरीको अभिलेख छ ।

कुन जिल्लामा कति ?

चालु आर्थिक वर्षको हालसम्म मधेश प्रदेशका ८ वटै जिल्लामा आगलागीमा घटना भएका छन् । प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना सिरहा जिल्लामा भएको छ भने सबैभन्दा कम सर्लाही जिल्लामा भएको छ ।
सिरहामा २१६ वटा आगलागीका घटना भएका छन् भने सर्लाहीमा १०४ आगलागीका घटना भएको प्रहरीको अभिलेख छ ।

सिरहा जिल्लामा आगलागीमा परेर ४ जना पुरुष र १ महिला गरी ५ जनाले ज्यान गुमाएका छन् । भने १८ महिला, ६ पुरुष र ४ बालबालिकासहित गरी २८ जना घाइते भएका छन् । यस्तै ८२ घर र ३८ गोठ जल्दा ८ करोड २० लाख ४० हजार रुपैँया बराबरको क्षती भएको प्रहरीले जनायो ।

सर्लाहीमा आगलागीमा परेर १ जना मानिसको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सर्लाहीमा १०० घरमा क्षती पुग्दा ३ करोड ४१ लाख ७५ हजार ४०० रुपैँया बराबरको क्षती भएको प्रहरी बताउँछन् । सप्तरी जिल्लामा १७२ वटा आगलागीका घटनामा १ जना मानिसको मृत्यु र २४ चौपाया घाइते भएका छन् भने ५६ घर र २५ गोठ जलेका छन् । उक्त जिल्लामा ५ करोड ४१ लाख २३ हजार मूल्य बराबरको क्षती पुगेको छ ।

प्रदेशको राजधानी धनुषा जिल्लामै १४५ वटा आगलागीका घटनामा हुँदा ६ जनाको मृत्यु २३ जना मानिस घाइते भए । यस्तै ३ चौपायाको जलेर मृत्यु हुँदा ११ घाइते भएका छन् । २२ घर र ३ गोठ जलेर नष्ट हुँदा जिल्लामा ८ करोड ४९ लाख १८ हजार ७०० बराबरको क्षती भएको प्रहरीको तथ्यांक छ । यसैगरी महोत्तरीमा १३० वटा आगलागी हुँदा १ जना मानिसको जलेर निधन भएको छ । आगोले ३२ चौपायाको मृत्यु र ८ चौपाया घाइते भए । त्यस्तै १२० घर र ७१ गोठ जल्दा ४ करोड १४ लाख १६ हजार ३०० मूल्यको क्षती भयो ।

यस्तै रौतहटमा १८३ आगालागीका घटनाबाट ३ जनाको मृत्यु भएको छ भने ३ जना बालबालिकासहित १८ जना घाइते भएका छन् । रौतहटमा ४४ चौपायाको जलेर मर्दा २० चौपाया घाइते भएका छन् । यस्तै ४६ घर र ३८ गोठ जलेका छन् । जिल्लामा ४ करोड ९८ लाख १९ हजार ७३२ रुपैँयाको क्षती पुगेको छ ।

बारामा १२१ वटा आगलागीका घटनाबाट २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका प्रहरीको तथ्याङ्क छ । उक्त जिल्लामा ५४ वठा पशुको जलेर मृत्यु भएको र १६ घाइते भएका छन् । ८४ घर र ३८ गोठमा क्षती पुग्दा ४ करोड १७ लाख ८ हजार ५०० मूल्यको क्षती पुगेको छ ।

पर्सा जिल्लामा १२८ आगलागीका घटनाबाट १ जनाको मृत्यु भएको छ । यस्तै आगोमा ६ जना बालबालिकासहित १३ जना मानिस जलेर घाइते भएका छन् । आगलागीबाट ५७ पशुको जलेर मृत्यु हुँदा २ वटा घाइते भएका छन् ।
५१ घर र १४ गोठ आगोको चपेटामा परेर जलेका छन् । जिल्लामा ५ करोड ७२ लाख ६२ हजार ८०० रुपैँया बराबरको क्षती भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस विषयमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजेट अभाव भएकाले आगलागीको पूर्वतयारीमा प्रदेश सरकार चुकेको प्रतिक्रिया दिए । उनी भन्छन्, ‘साथै जिल्ला प्रशशासन कार्यालयहरु हाम्रो मातहतमा छैनन्, जसकारण सूचना पनि हामीलाई ढिलैगरी आउँछ, त्यसकारण चाहिएको समयमा राहत प्याकेजहरु घोषणा गर्न सकिरहेका छैनौँ ।’

तर त्यसको बाबजुत पनि घटनाको जानकारी पाएलगत्तै सुरक्षा निकायसहितका अन्य निकायहरुलाई समेत राहत वितरण जुट्न तत्काल निर्देशन दिने गरेको उनले जनाए ।


सम्बन्धित समाचार