Logo

१९ वैशाख,ठोरी । पर्साको ठोरी –२ मा रहेको अमृतधारा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ । कर्मचारी अभावमा लामो समयदेखि बन्द सो छोटी भन्सारको एक कार्यक्रमका बीच बुधबार भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रिबन काटेर पुनः सुचारु गर्नुभएको छ ।

पर्साको सबैभन्दा पश्चिममा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब ६ वर्षअघि तयार पारिएको भएपनि कर्मचारी नहुँदा राजस्व चुहावट हुँदै आएको थियो ।बिरगंज भन्सार कार्यालय मातहतको सो छोटी भन्सार सन्चालन नहुँदा ठोरी र विशेषगरी चितवनको माडीका जनतालाई सास्ती हुने गरेको थियो ।

ठोरीसंग सिमाना जोडिएको भारततर्फको भिखना ठोरीमा भन्सार कार्यालय नभएपनि एकतर्फी रुपमा नेपालमा सो भन्सार कार्यालय सन्चालनमा आएको हो । विशेषगरी भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान ठोरी भएर आउने गरेको भएपनि भन्सार नहुँदा स्थानीयबासीलाई समस्या हुने गरेको थियो ।

भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । यस्तै ठोरी भएर प्रवेश गर्ने सवारी साधनलाई नेपालमा भन्सार गर्न समेत बिरगंज नै पुग्नुपर्ने बाध्यता पनि अब हट्ने भएको छ । वर्षमा ३० दिनसम्म भारतीय सवारीलाई अस्थायी आवतजावत गर्न तथा एकपटकमा १० हजारसम्म घरायसी प्रयोजनको सामानमा भन्सार तिर्न सहज हुनेछ ।

भन्सार कार्यालयको उद्घाटन गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले छोटी भन्सारको निरन्तरताको निमित्त ठोरीका जनप्रतिनिधि र स्थानीयको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।

सो अवसरमा ठोरी गापाका अध्यक्ष लाल बहादुर श्रेष्ठले भन्सार कार्यालय सन्चालना पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै पालिकाको तर्फबाट भन्सार कार्यालयलाई सम्पुर्ण सहयोग रहने बताउनुभयो ।
यस्तै भन्सारकै कारण स्थानीयलाई दैनिक उपभोग्य सामान ल्याउन सास्ती हुन नहुनेमा सबै सजग रहनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा माडी नगरप्रमुख तारा कुमारी काजीमहत्तो , भन्सार विभाग प्रमुख ढुण्डीराज निरौला लगायतले मन्तव्य व्यक्त गर्दै छोटी भन्सारको दिगोपनाको निमित्त स्थानीय जनप्रतिनिधि , स्थानीयबासीले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी , ठोरी गापाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ लगायत ठोरीका जनप्रतिनिधि एवम् स्थानीय विभिन्न दलका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार