Logo

२० वैशाख, वीरगञ्ज । वीरगन्जको नबिल बैंकमा चोरी भएको घटनामा संलग्नहरु भारतमा पक्राउ परेका छन् ।  नेपालबाट चोरी गरिएको रकम सहित चोर समुह सिमाक्षेत्रमा रहेको विशेष सूचनाको आधारमा भारतीय प्रहरीले १ महिला सहित ३ जनालाई पक्राउ गरेको हो ।

भारतीय प्रहरीले बिहारको मोतिहारी जिल्ला दर्पा थाना क्षेत्रको तिनकोनी गाउँमा छापामारी गरी १८ लाख २३ हजार नेपाली रुपैया सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले जानकारी दिए ।

पक्राउ परेकाहरु माथि विहारका विभिन्न थानामा पनि चोरीको मुद्दा दर्ता रहेका छन् । सोमबार विहान ४ बजेको समयमा वीरगन्जको नबिल बैंक बाईपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रकम चोरी भएको थियो ।

नेबिल बैंकको रकम चोरी भएको घटनामा संलग्नहरु भारतीय प्रहरीले पक्राउ गरेको जानकारी आएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । विस्तृत विवरण भने आधिरिक रुपमा जानकारी लिने क्रममा रहेकोले पूर्ण विवरण दिउँसोसम्म पाउने बताए ।

भारतीय प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन गरी जानकारी गराएको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइसकेको छ ।

उनीहरु कसरी पक्राउ परे ?
भारतमा आसन्न लोकसभाको चुनावलाई मध्य नजर गर्दै सुरक्षा तीब्र पारिएको छ । विगतको चुनावताका भएका चोरी, लुटपाटका घटनालाई दृष्टिगत गर्दै यसपटक सुरक्षाजाँचमा कडाई गरिएको मोतिहारी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कान्तेश कुमार मिश्रले बताए ।

उनी भन्छन् “नेपाल भारत सिमावर्ती शहर वीरगन्जको नबिल बैंकमा चोरी भएको घटना थाहा पाए, चोर समुह भारतमै भागेका हुन् भन्ने खबरको आधारमा उनीहरुको खोजतलास स्ुरु भयो ।” विशेष सूचनाको आधारमा भारत विहारको मोतिहारी जिल्ला दर्पा थाना क्षेत्रको तिनकोनी गाउँमा शंकास्पद व्यक्तिहरु रहेका जानकारी आएपछि प्रहरी छापामारी गर्न पुगेको थियो ।

के के बरामद भयो ?
उनीहरु लुकेको ठाउँमा छापामारी गर्दा नेपाली रुपैया १८ लाख २३ हजार, र विभिन्न गरगहना बरामद भएकोले त्यहाँ रहेका १ महिला र २ युवक गरी ३ जनालाई नियन्त्रण लिइएको मोतिहारी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कान्तेश कुमार मिश्रले बताए ।

उनीहरुको साथबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार (देशी कट्टा, केही थान गोली) समेत बरामद भएको छ । त्यसैगरी सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइल बरामद गरेको मोतिहारी थानाका एसपी मिश्रले जानकारी बताए ।


सम्बन्धित समाचार