Logo

२० वैशाख,वीरगञ्ज । भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले लिङ्क काटिदिएका कारण नेपालको इन्टरनेट सेवा बन्द हुन पुगेको पाइएको छ । बिहीबार अपराह्न चार बजेदेखि एक्कासी नेपालका प्रमुख सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो ।

इन्टरनेट सेवा प्रदायकका सञ्चालकहरूले नाम उल्लेख नगर्ने सर्तमा भारतको अपस्ट्रिम प्रदायक एयरटेलले नै नेपालको इन्टरनेट लिङ्क काटिदिएको टेकपानालाई बताएका छन् । बुधबार मात्रै एयरटेलले विभिन्न सेवा प्रदायकहरूलाई पत्राचार गर्दै लामो समयदेखि भुक्तानी प्राप्त नभएका कारण कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको थियो ।

सोही विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको साझा संस्था आइस्पानले केही दिन अघि पत्रकार सम्मेलन गर्दै इन्टरनेट बन्द हुनसक्ने परिस्थिति सिर्जना भएको जानकारी समेत गराएको थियो ।

यस अघि विभिन्न समयमा गरिएका पत्राचारमार्फत पनि एयरटेल लगायतका अपस्ट्रिम प्रदायकले यस्तै किसिमको ताकेता गर्दै आएका थिए । सरकारले विवादित बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ । जसका कारण सेवा प्रदायकले एयरटेल, टाटा लगायतका भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।

व​र्ल्डलिंकले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएका कारण देखाउँदे अन्तर्राष्ट्रिय लिङ्क काटिदिएको जनाएको छ । “नेपाल सरकारबाट विदेशी मुद्राको सिफारिस नपाउँदा नेपालका इन्टरनेट सेवा प्रदायकहरूले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी पठाउन सकेका छैनन्,” कम्पनीको पोस्टमा भनिएको छ ।

त्यस्तै अर्को इन्टरनेट सेवा प्रदायक भायानेटले पनि सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकका कारण इन्टरनेट सेवामा समस्या आएको जनाएको छ । “यसले गर्दा नेपालका अधिकांश आईएसपीको सेवा प्रभावित भएको छ,” कम्पनीले भनेको छ, “यो समस्याको समाधानको प्रयास जारी छ ।”

साभार – टेकपाना

 


सम्बन्धित समाचार