Logo

२१ वैशाख,वीरगञ्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले पर्साको आज हुने भनिएको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै एक पक्षले विरोध गर्दै तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।

एमालेका नेता लालबाबु शेख पक्षधरहरुले निर्वाचन समितिबाट धाँधली भइरहेको भन्दै विरोध गर्दै तालाबन्दी गरेपछि अहिले निर्वाचन प्रक्रिया रोकिएको छ । विहान ११ बजेदेखि हुने भनिएको निर्वाचन अहिलेसम्म मतदान प्रक्रियामा अगाडि बढ्न सकेको छैन ।

निर्वाचनमा अवैधानिक प्रतिनिधि छनौट, एक व्यक्तिको दुइ ठाउँमा उम्मेदवारीसहित अन्य प्रक्रियामा धाँधलीपूर्ण क्रियाकलाप भइरहेको भन्दै शेख पक्षधर समूहले निर्वाचन समितिको गेट अगाडि विरोध गर्दै तालाबन्दी गरेका हुन ।
शेख पक्षधरका हनिफ मियाँले निर्वाचनमा एकलौटी हुन थालेपछि आफूहरुको समूहले त्यसको विरोध गर्दै तालाबन्दी गरेको हो ।

उनी भन्छन्,‘ ३ वडाका महेश दासको नाम ६ नम्बर वडाबाट नियमविपरीत सिफारिस भएको छ, एउटै व्यक्ति सदस्य तथा अन्य पदमा उम्मेदवारी दिएका छन् । सदस्यमा निर्विरोध भइसकेकी गीता भण्डारीको पुनः अर्को पदमा उम्मेदवारी परेको छ । यो भनेको सरकार गलत कुरा, एक पक्षको धाधली हो । त्यसकारण यी सबै त्रुटि सुधार हुनुपर्छ ।’

यही त्रुटिहरु सुधारको माग गर्दै आफूहरु तालाबन्दी गरेको उनको भनाइ छ । माग सम्बोधन नभएसम्म आफूहरु निर्वाचन प्रक्रिया अगाडि बढन् नदिने उनी बताउँछन् ।
बिहीवार (हिजो) अध्यक्षमा निर्विरोध निर्वाचित भएका डा.विश्वम्भर शर्मासहित केही पदमा निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदका लागि आज विहानदेखि निर्वाचनको समय तोकिएको थियो ।

तर एक पक्षले विरोध गर्न थालेपछि एमाले पर्साको निर्वाचन प्रक्रिया अहिले रोकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।तर, प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले विवाद भएपछि आफै ताला लगाएर हिडेकोले अरु कुनै पक्षले ताला नलगाएको बताउनुभयो ।


सम्बन्धित समाचार