Logo

२२ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा आगलागीबाट साढे ९ महिनाको अवधिमा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ ।
आगलागीका सम्बन्धमा प्रदेशका जिल्लाभरबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरको क्षति भएको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयले कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु वर्षको साउनदेखि बैशाख १५ गतेसम्म प्रदेशमा आगलागाीबाट ४४ करोड ५४ लाख ६४ हजार ४३२ मूल्य बराबरको क्षती भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुभाष बोहोराका अनुसार आगोका कारण धनुषामा आठ करोड ४९ लाख १८ हजार, महोत्तरीमा चार करोड १४ लाख १६ हजार, सर्लाहीमा चार करोड ४१ लाख ७५ हजार, सप्तरीमा पाँच करोड ४१ लाख २३ हजार बराबरको क्षती पुगेको छ ।

यसैगरि सिरहामा आठ करोड २० लाख ४० हजार, रौतहटमा चार करोड ९८ लाख १९ हजार, बारामा चार करोड १७ लाख ६ हजार र पर्सामा पाँच करोड ७२ लाख ६२ हजार मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको उनले बताए ।

प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय छ आगलागीका घटना भएका मधेश प्रदेश प्रहरी बताउँछ ।

यस्तै सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएकोे विवरणमा उल्लेख छ ।

लामो समयदेखिको खडेरीबिच बढ्दो गर्मीसँगै तातो हावा चल्दा आगलागीका घटना अत्याधिक भएको प्रहरीको अनुमान छ । साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको पुगेको प्रहरी बताउँछ ।

अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले यसबाट सुरक्षित तथा सर्तक रहन र अग्नी पीडितलाई सहयोगका लागि अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार