Logo

सेवाग्राही बनेर अनुगमनमा पुगेका मधेस प्रदेशका पर्यटन मन्त्री भट्टराई

२५ बैशाख, वीरगञ्ज । मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई ‘समिर’ले सरकारी कार्यालयको अनुगमन गरेका छन् ।

पर्यटनमन्त्री भट्टराईले महोत्तरी जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा सेवाग्राही बनेर अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा कार्यालयका प्रमुखदेखि कर्मचारीहरु समयमा नआउने गरेको पाईएको, कार्यालयका कम्प्युटर लगायतका भौतिक स्रोत साधनहरु पनि प्रयोगमा नल्याइएको साथै सरसफाई समेत नगरी राखिएको पाईएको उनले बताए ।

कार्यालय प्रमुख विनोद कान्त झा कार्यालय समयमा नआएको पाईएपछि अनुगमन स्थलबाटै फोन गरेर बोलाई समयमा कार्यालय आउन र कार्यालयको सरसफाईमा पनि ध्यान दिन सचेत गराएका छन् ।

मन्त्री भट्टराईले कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई सेवाग्राहीको काम सहज र सरल ढंगले गरिदिन कुनैपनि सेवाग्राहीलाई दुःख नदिन पनि निर्देशन दिए ।

उनले चिनेको सेवाग्राहीको काम छिटो र नचिनेको सेवाग्राहीको काम चाहिँ नगरिदिने गरेको गुनासो आएकोले सेवामा कुनैपनि सेवाग्राहीलाई विभेद नगर्न निर्देशन दिए ।

उनले कार्यालयलाई चुस्तदुरुस्त बनाएर राख्न साथै सेवाग्राहीको कामलाई विशेष प्राथामिकताका साथ गर्न निर्देशन गरेको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार