Logo

२६ वैशाख,ठोरी ।सामाजिक सञ्जाल टिकटक चलाएर विजयवस्तीका युवाहरुले पर्साको ठोरीका दिन दुःखीहरुलाई सहयोग गर्ने अभियान चलाएका छन् । टिकटकबाट संकलन हुने रकम जम्मा गर्दै ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्तीका युवाहरुले शारीरिक रुपले अशक्त रहेका ठोरीका दिन दुःखीहरुलाई सहयोग अभियान नै चलाएका हुन् ।

विजयवस्तीका टिकटक प्रयोगकर्ताहरूको समूहले ठोरीका विभिन्न स्थानका क्यान्सर पीडित, मृगौलापीडित, जन्मजात शारीरिक अपाङ्गताका कारण कष्टकर जीवन बिताइरहेका नागरिकहरुलाई सहयोग गरेको सामाजिक अभियन्ता सन्तोष श्रेष्ठले जनाए । टिकटकमा लाईभ आउँदा पाइने विभिन्न उपहार संकलन गरी समुहले हालसम्म करीब ५० हजार भन्दा धेरै सहयोग प्रदान गरिसकेको सहयोग कार्यमा सहजीकरण गर्दै आइरहनुभएका अभियन्ता श्रेष्ठले बताए ।

समुहले ठोरी गाउँपालिका वडा न.३ सालघारीका अति विपन्न र पुर्णरूपमा शारीरिक अशक्त बालकद्वय विवेक मोक्तान र एकलाल मोक्तानलाई ५ हजार, सोही वडाको ब्रम्हानगर, नयाँबस्तीका दुवै मृगौला पीडित इन्द्रबहादुर थिडलाई १० हजार तथा ठोरी–४, स्याउलेवस्तीका अशक्त सोमबहादुर श्रेष्ठलाई दुई बोरा चामल, अण्डा, पिठो, विस्कुट आदि खाद्यान्न सामाग्री घरमा नै पुगेर हस्तान्तरण गरेका छन् ।

यस्तै ब्लड क्यान्सरबाट पीडित ठोरी–५, ठुलो बाघमोर्चाकी २५ वर्षीय निरमाया लोप्चनलाई पनि समुहले २४ हजार नगद सहयोग गरेको छ । समुहलाई इजरायल निवासी सुष्मा निरौलाले सहयोग गर्दै आइरहेको समुहका सदस्य रुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । टिकटक लाईभ बसेर प्राप्त हुने रकमले आगामी दिनमा पनि सामाजिक कार्यमा खर्च गर्दै जाने समुहले जनाएको छ ।

उक्त समुहमा विजयवस्तीका युवाहरु राम श्रेष्ठ, ओम श्रेष्ठ, राज श्रेष्ठ, कृष्ण श्रेष्ठ र रुपेन्द्र श्रेष्ठको सहभागिता छ ।


सम्बन्धित समाचार