Logo

२७ वैशाख,वीरगञ्ज । मधेश प्रदेशका सरकारलाइ दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रले तयारी गरेको छ । सहमतिविपरीत जनता समाजवादी पार्टी (जसपा) नेपालले गतिविधि गरेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाइ दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रले तयारी गरेको हो ।

केन्द्रको निर्देशन बमोजिम माओवादी केन्द्रले प्रदेशमा ‘इमरजेन्सी’ छलफल डाँकेको जनाइएको छ । चौथो पटक विश्वासको मत दिएर सरकारमा सहभागी भएका माओवादी केन्द्रले एक महिना नपुग्दै समर्थन फिर्ता लिने छलफल चलाइरहेको माओवादीका एक सांसदले जनाए ।

उनका अनुसार अहिलेसम्मको छलफलमा सम्भवत आजै सरकारबाट समर्थन फिर्ता लिने बढी मत छन् । साँझसम्म समर्थन फिर्ता लिने माओवादी केन्द्रले तयारी गरेको स्रोतको दाबी छ ।
माओवादीका उद्योग मन्त्री युवराज भट्टराइ (समीर) ले पनि समर्थन फिर्ता लिने सवालमा छलफल चलिरहेको बताए । तर अहिलेसम्म कुनै ठोस रुप लिइनसकेको उनको धारणा छ ।

अल्पमतमा पर्छ यादव नेतृत्वको सरकार

माओवादीले समर्थन फिर्तामा लिएमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा पर्छ । त्यसका अंकगणितीय कारण छन् । त्यसलाई यसरी बुझौं । चौथोपटक विश्वासको मत लिँदा यादव नेतृत्वको सरकारले ६१ जना सांसदको समर्थन पाएको थियो ।

माओवादी सरकारबाट बाहिरिएमा यो संख्या घटेर ५२ जना पुग्न जान्छ, जुन अल्पमत हो । किनकी, सरकार निर्माणका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ ।


सम्बन्धित समाचार