Logo

२८ वैशाख, वीरगञ्ज । आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने सरकारले निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

यसैगरी बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक पाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

बैठकमा समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा काठमाण्डौमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय भएको छ ।


सम्बन्धित समाचार