Logo

२९ वैशाख, वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न चुनौति दिनुभएको हो ।

उहाँले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौति दिनुभयो । उहाँले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राख्नुभयो ।

उहाँले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताउनुभयो ।

उहाँले चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताउनुभयो । आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उहाँको भनाई छ ।


सम्बन्धित समाचार