Logo

२९ वैशाख, वीरगञ्ज । सिर्सिया नदी प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्ने वीरगन्ज महानगर प्रमुखले दिएको चेतावनी बोलि मै सिमित भएको छ ।

नगर प्रमुख राजेशमान सिंहले नदी प्रदुषित बनाउने उद्योगीहरुलाई १५ दिन भित्र सच्चिन आग्रह गर्दै त्यसपश्चात कडा एक्सन लिने चेतावनी गएको वैशाख १० गते दिएका थिए ।

तर १५ दिनको अल्टिमेटम सकिएको आज ४ दिन  भइसक्दा पनि महानगरको कडा एक्सनको कुनै सुरसार देखिएको छैन । अहिले पनि सिर्सिया नदीको हाल उस्तै छ भन्दै नगरप्रमुखको अनुगमन र चेतावानी हावामा दिएको गफ मात्र भएको स्थानियमा टिकाटिप्पणी हुन थालेको छ ।

‘बारम्बार उद्योगहीहरुको कुरा सुन्दै आएको छु, अब कम्परमाईज गर्दिन्न । अन्तिम पटकको लागी १५ दिनको समयसिमा दिदैछु, १६ औं दिन आफै अनुगमनमा निस्किने छु ।’ वैशाख १० गते नगरप्रमुख सिंहले भनेका थिए ।

उनले १५ दिन भित्र सच्चिएन भने १६ औं दिनपछि सिर्सिया नदीमा प्रदूषित पानी मिसाउने उद्योगहरुलाई हदैसम्मको कारवाही गर्ने र त्यो कारवाही कस्तो हुन्छ, त्यही दिन थाहा हुन्छ भनि कडा एक्सन लिने संकेत गरेका थिए ।

नगर प्रमुखले प्रतिवद्धता जनाएको  २० औं दिन पुग्न लाग्दा पनि उद्योगहरुको अनुगमन तथा निरीक्षणमा निस्केका छैनन्  । उद्योगीहरुसँगको सेटिङ्ग भयो कि भनेर स्थानियमा टिक्काटिप्पणी हुन थालेको देखिन्छ ।

उद्योगबाट निस्केका फोहोर र केमिकलयुक्त पानीले सोझै सिर्सिया नदीमा फ्याक्ने गरेको हुँदा स्थानियलाई समस्या भएको छ । दुर्गन्धले कहिलेकाही नाक छोपेर काम गर्नुपर्ने अवस्था आईदिने गरेको स्थानियले बताउँछन् । यसपालिको सम्पन्न चैते छठ पुजामा पनि नदीमा कालो लेदो सहितको दुर्गन्धित पानीका कारण ब्रतालुहरुले छेउमै पोखरी झै खाल्डो खनेर धाराको पानी राखेर अर्घ  दिएका थिए ।

वैशाख १० गते सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुमा सिल नै गर्ने वीरगन्ज महानगरपालिकाले तयारी गरेपछि उद्योगीहरुले १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने सामुहिक प्रतिबद्धता जनाएका थिए ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले नदी प्रदुषित गर्ने उद्योगमै पुगेर सिल गर्ने तयारी गरेको सुंइको पाएपछि ९ वटा उद्योगका सञ्चालकहरु महानगरपालिका कार्यालयमै पुगेर १५ दिनको समय मागेका थिए ।

उनिहरुले १५ दिनभित्र उद्योगमा सबै ब्यवस्थापन गरिसक्ने र त्यसपछि उद्योगका फोहोर र रसायनयुक्त पानी नदीमा बिसर्जन नगर्ने लिखित प्रतिबद्धतापनि जनाएका थिए । अहिले उद्योगले के कति प्रतिबद्धता पुरा गरे ? त्यसको अनुगमन हुन आवश्यक भएको  स्थानियको माग छ ।

नदीलाई प्रदुषणमुक्त बनाउन महानगरले यसअघि पटक पटक अनुगमन गर्नुका साथै एक बर्षपहिले पाँच वटा उद्योगलाई ३/३ लाखको दरले जरीवानासमेत गरेको थियो । त्यसका बाबजुदपनि उद्योगीहरुले अटेर गरेपछि वीरगन्ज महानगरका मेयर सिंहले कडा चेतावनी दिएका थिए ।


सम्बन्धित समाचार