Logo

३० वैशाख,सर्लाही । सर्लाहीमा चालु आर्थिक वर्षको १० महिनामा भएका आगलागीका घटनापरेर एक सय ६१ घर जलेका छन्। आगलागीबाट करोडौँको धनमाल क्षति भएको छ।

जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की र एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएको र एक जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठजना महिला र पाँचजना पुरुष गम्भीर घाइते भएका छन्।

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुईवटा घाइते भएको बताए।

सर्लाहीमा खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका छन्। गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परविारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए।

२० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन्। स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ। नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताउछन्।

‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने करा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न बारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ,’ उनले भने।

स्थानीय सामाजिक अगुवा रजनिकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरूरी रहेको बताए। ‘विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ । त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ,’ उनले भने। रासस


सम्बन्धित समाचार