Logo

३१ वैशाख,वीरगञ्ज । पर्सा जिल्लामा लागुऔषध गाँजा खेतीमा प्रहरी प्रशासनले रोक लगाएपछि किसानहरु बदाम खेतीतर्फ आकर्षित भएका छन् । आयआर्जनका लागि पर्साका ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीतर्फ आकर्षित भएका हुन् ।

ग्रामीण क्षेत्रको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारी गुठी, लङ्गडी, सम्भौता लगायतका क्षेत्रमा बदाम खेती गरिएको छ । विगत केही वर्षदेखि वातावरण परिवर्तनसँगै बढ्दो वन बिनाशका कारण खोलानाला सुक्दै गएर सुख्खाको मारमा परेका किसानहरुले विभिन्न बाली लगाउन थालेका छन् । जसमध्ये बदाम खेती एक प्रमुख खेती बन्दै गएको छ ।

अहिले महादेवपट्टीमा मात्रै करिब ३० बिघा भन्दा बढि जमिनमा बदाम खेती गरिएको छ । सुख्खा जमिन पानी नजम्ने बलौटे माटो भएपनि राम्रो उब्जनी हुने गरेको महादेवपट्टीका किसान प्रेम दासले जनाए । बदाम खेतीबाट प्रती कठा २० देखि तिस हजार सम्म आम्दानी गर्ने गरेको दासले बताए ।

एउटा खेतमा एक बाली धान र दुई बाली बदाम निकाल्ने गरेको उनको भनाइ छ । बदाम खेती गर्दा मलको आवश्यकता नपर्ने र खेतमा उम्रिएका झारपातलाई नै कुहाएर राम्रो कम्पोस्ट मल तयारी गरी प्रयोग गर्ने गरेको अर्का किसान हेमन दहितले जानकारी दिए ।

बदाम खेतीमा किरा फट्यांग्रा समेत कम लाग्ने हुँदा किटनाशक औसधि समेत छर्न आवश्यक नहुने भएकाले न्यून खर्चमा ठुलो आम्दानी गर्ने गरेको किसानहरुले जनाएका छन् ।


सम्बन्धित समाचार