३१ बैशाख, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन्।
सोमबार साँझ मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहालीपछि उनले पहिलो निर्णयका रूपमा ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्नेसम्बन्धी फाइलमा सही गरेका हुन्।
मन्त्री यादवका अनुसार, बिरामीको बढी भिड हुने अवस्थालमा प्राथमिकतासाथ जनशक्ति थपिनेछ। जसअन्तर्गत पहिलो चरणमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार जनशक्ति थप गरिने भएको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका प्रदीप यादव र राज्यमन्त्री हसिना खानले सोमबार साँझ शपथ लिएका थिए।
शीतल निवासमा आयोजित समारोहमा मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यस्तै, राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शवथ खुवाए।
उपेन्द्र यादव बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्।
प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो।
हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षतिर लागेका थिए