Logo

१ जेठ,काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ । ‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ ।

२०७९ मंसिरमा निर्वाचन भएपछि सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसबीचमा गठबन्धनका दलहरू फेरिए पनि सरकारको नेतृत्व गर्ने व्यक्ति भने फेरिका छैनन् ।

नेपालको तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको नेतृत्वमा मंगलबार (आज) दोस्रोपटक सरकारको नीति तथा कार्यक्रम आएको हो । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्ततु गरेका छन् ।
“यस अवसरमा सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं मुलुकको सर्वाङ्गीण विकास र समृद्धि, अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र संघर्ष एवं आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,” आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने ।

अघिल्लो वर्ष चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पनि राष्ट्रपति पौडेलले प्रस्तुत गरेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री प्रचण्ड नै थिए । तर अघिल्लो वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारूढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू थिए ।

अघिल्लो वर्षको सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएको थियो, जसप्रति माओवादी केन्द्रको निकै मोह रहँदै आएको छ । जनयुद्ध शब्दले माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई सम्झाउने गर्थ्यो ।

गत वर्ष चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति पौडेलले भनेका थिए, “यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

यसपटक सत्तारुढ गठबन्धनका दलहरू हेरफेर भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेस ‘आउट’ भएको छ भने नेकपा एमाले ‘इन’ भएको छ । गठबन्धनमा एमाले मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रवेश गरेको छ ।

एमाले र रास्वपा प्रवेश गरेपछि सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्द हटेको छ भने ‘सशस्त्र संघर्ष’ शब्दावलीले प्रवेश गरेको छ ।

 


सम्बन्धित समाचार