Logo

२ जेठ,काठमाडौं । चीन र ताइवानबीचको सम्बन्ध तनावपूर्ण छ । यसैबीच ताइवानले सी जिनपिङ सरकारलाई आफ्नो आकाशमा ४५ चिनियाँ सैन्य विमान पठाएको आरोप लगाएको छ ।

ताइवानले पछिल्लो २४ घण्टामा आफ्नो आकाशमा ४५ चिनियाँ विमान र ६ वटा नौसैनिक जहाज देखेको दाबी गरेको छ । ताइवान सरकारले एक विज्ञप्तिमा चिनियाँ विमानले ताइवान जलडमरूको मध्य रेखा पार गरेको जनाएको छ।

यसअघि पनि समय समयमा चिनियाँ सैन्य विमान र नौसेना जहाजहरू ताइवानको सीमा नजिक देखिएका छन्। यसअघि मे महिनाको सुरुमा पनि सातवटा चिनियाँ सैन्य विमान ताइवानको आकाशमा देखिएका थिए।

ताइवान चीनको दक्षिण–पूर्वी तटबाट १०० माइल वा लगभग १६० किलोमिटर टाढा अवस्थित एउटा सानो टापु हो। यो कुनै समय चीनको नियन्त्रणमा थियो । त्यसबेला यसलाई फर्मोसा द्वीप भनिन्थ्यो। चीन र ताइवान सन् १९४९ देखि अलग छन् । यसअघि ताइवान र चीन एक थिए । तर कम्युनिस्ट सरकार सत्तामा आएपछि कुओमिन्ताङ पार्टीका मानिसहरू ताइवान भागे।

सन् १९४९ मा चीनलाई ‘जनवादी गणतन्त्र चीन’ र ताइवानलाई ‘चीन गणतन्त्र’ नाम दिइएको थियो। दुवै देशले एकअर्कालाई मान्यता दिँदैनन् । तर, चीनले ताइवान पनि आफ्नो हिस्सा भएको दाबी गरेको छ । चीन र ताइवानमा प्रायः युद्धजस्तो अवस्था उत्पन्न हुन्छ।

चीनले ताइवान कब्जा गर्न खोजेको छ। तर, चीनले जतिसुकै युद्धको धम्की दिए पनि ताइवानलाई आक्रमण गर्न सहज नहुने विज्ञहरू बताउँछन् । यसका तीनवटा ठूला कारण छन् । सबैभन्दा पहिले, ताइवान चारैतिर समुद्रले घेरिएको छ। त्यहाँको मौसम भविष्यवाणी गर्न गाह्रो छ। त्यहाँका पहाड र समुन्द्री किनारा कच्चा छन् । त्यसैले उसको क्षेत्रमा प्रवेश गर्न सहज छैन ।

दोस्रो कारण ताइवानको सेना चीनको सेनाको अगाडि सानो देखिन सक्छ तर ताइवानसँग उन्नत हतियार छ । सन् २०१८ मा ताइवानले आफूसँग मोबाइल मिसाइल प्रणाली रहेको बताएको थियो । यसको मद्दतले यसको मिसाइलले कसैलाई थाहै नदिई लक्ष्यमा पुग्न सक्छ। साथै, सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र र विमान विरोधी मिसाइलले चीनलाई हानि पु¥याउन सक्छ।

तेस्रो कारण अमेरिकाको समर्थन हो । अमेरिकाले ताइवानलाई सधैं असल मित्र भनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानलाई पक्कै पनि सैन्य सहयोग गर्ने बताएका थिए । चीनको कडा विरोधका बाबजुद लाइ चिङ टेले राष्ट्रपति पदको सपथ लिएपछि यस वर्ष ताइवानको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीटीपी) सत्तामा आयो। लाइ चिङ र उनको पार्टी डीपीटीलाई चीनको कट्टर विरोधी मानिन्छ ।

चीन र ताइवानबीचको सम्बन्ध फरक छ। १९४९ देखि ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रुपमा हेर्दै आएको छ । तर हालसम्म विश्वका १४ देशले मात्रै यसलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिएर कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।

चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ र एक दिन ताइवान पनि यसको हिस्सा बन्ने विश्वास राख्छ। ताइवानले आफूलाई एक स्वतन्त्र देश भन्छ। यसको आफ्नै संविधान छ र निर्वाचित सरकार छ।


सम्बन्धित समाचार