Logo

४ जेठ, जनकपुरधाम । जानकी नवमीको अवसरमा आज मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

सीता माताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ । जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाईदै छ ।

आज विहानैदेखि श्रद्धालुहरुले नुहाईधुवाई गरी जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्न पुगेका छन् ।

जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज विहानै दुधमति नदीमा स्नान, जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, झाँकीकिर्तनजस्ता कार्यक्रम आयोजन गरिएको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

सीताको जन्म नक्षत्र र विवाह प्रसङ्ग

पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान् नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । राम नामी च्यादरदेखि मन्दिरसम्म, भजनका संवाददेखि चलचित्रसम्म अझै पनि सीता रानीका त्याग, बलिदान अनि महानतालाई चित्रण गरिन्छ ।

अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ, सीताको । सँगै जोडिन्छ धनुष–बाणको गाथा पनि । सुख–सयलमा हुर्केकी सीता पतिसँग वनवास अनि कठोर बसाई हुँदै लङ्कामा रावणको अपहरणमा परी अधीन बस्न बाध्य भएकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतार–चढाव पाइन्छ । उनका हरेक कुरा अनि निर्णयले मानव–जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।

लैङ्गिक भेदभावको उदाहरणका रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन् । तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुने छिन् ।

सीतालाई रामभन्दा पहिले नाम लिइन्छ । तसर्थ, राम–सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौँ । पहिले सीता अनि राम । सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन् । सीता तिनैमध्ये एक कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।


सम्बन्धित समाचार