Logo

५ जेठ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको माइस्थान चोक शुक्रबार साँझ मेयर राजेशमान सिंह पक्ष र कांग्रेस कार्यकर्ताहरूबिच हात हालाहाल भएको छ । मेयर सिंहविरुद्ध कांग्रेस कार्यकर्ताहरूले निकालेको जुलुसमा हात हालाहाल भएको हो ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिको महम्मद शहाबुद्दिनको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । त्यो जुलुस माइस्थानमा चोकमा पुगेर कार्यक्रम गरिरहेका बेला मेयर समर्थकहरूले नाराबाजी गर्दै कार्यक्रम बिथोल्न थालेपछि हात हालाहाल भएको उनको भनाइ छ ।

विवाद उग्र बन्दै गएपछि प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई लखेटेको एसपी ढुंगेलले जानकारी दिए । मेयर सिंहविरुद्ध दर्ता गरेको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको भन्दै मसाल जुलुस निकालिएको थियो ।

मसाल जुलुस नगर परिक्रमा गरेर माइस्थान चोकमा कोण सभामार्फत परिणत भएको थियो । सोही बेला मेयर सिंहका समर्थकहरूले कार्यक्रम बिथोल्न नाराबाजी गर्न थालेको कांग्रेसका युवा नेता रञ्जन सिंहले बताए ।

उनका अनुसार मेयर समर्थकहरूले कांग्रेस कार्यकर्ताहरूसँग जबरजस्ती विवाद गर्न खोजेपछि दुवैतिरबाट मुठभेडको अवस्था सृजना भएको थियो । मेयर सिंहका समर्थकहरूले चोकमा राजेशमान जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

सोही क्रममा मसाल जुलुस निकाल्ने समूह र मेयरका समर्थकहरूबिच हातपात समेत भएको उनले बताए ।  झडपको क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो । सोही क्रममा प्रहरीको लाठी लागेर विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश यादव घाईते भएका छन् ।


सम्बन्धित समाचार