Logo

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक जारीगरेको मौद्रिक नीतिमा चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । चाँदी आयातमा निश्चित कोटा लगाउदा चोरी पैठारी बढेकोले केन्द्रीय बैंकले चाँदी आयात सम्वन्धि नीति परिमार्जन गर्न लागेको हो ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीति सम्वन्धि त्रैमासिक समिक्षा प्रतिवेदनमा चाँदी आयात तथा विक्री वितरणसम्वन्धी व्यवस्थामा संशोधन गर्न लागेको उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्राको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।

चाँदी आयातमा खुला गर्ने भन्दा पनि मौजुदा नीतिमा परिवर्तन गरेर ६० हजार डलरलाई बढाएर एक पटकमा एउटा कम्पनी वा फर्मले १ लाख ५० हजार डलर सम्म आयात गर्न पाउँने व्यवस्था गर्न खोजेको राष्ट्र बैंक स्रोतले जनाएको छ । सीमा निर्धारणले पुन अवैध व्यापारलाई बढवा दिने सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

फेरि आयातमा निश्चित कोटा राखेर सीमा निर्धारण गर्न खोजियो भने राज्य र व्यवसायी दुवैलाई नोक्सान हुने शाक्यको बुझाई छ । सरकारले सुन र चाँदीमा कोटा लगाएर तस्करीलाई संस्थागत गर्न खोजेको आरोप शाक्यको छ ।

चाँदी आयातमा राष्ट्र बैंकले करिव ३ बर्ष अघि देखि चाँदी आयातमा निश्चित कोटा लगाउदै आएको छ । बैधानीक बाटोभएर नेपाल भित्रने चाँदीमा कोटा लगाएपछि व्यवसायीले अवैध मार्ग भएर चाँदीको कारोवार गर्दै आएका छन् । खुला सीमानाकारण भारतबाट दिनहुँ ठूलो परिमाणमा चाँदीका तयारी गहना भित्रने गरेको व्यापारीहरुको भनाई छ ।

अहिले राष्ट्र बैंकले चाँदी आयात सम्वन्धी नीतिमा पुनरावलोकन गर्ने निर्णयले चाँदीको कारोवार गर्ने व्यापारीमा नयाँ तरंग पैदा भएको छ । केही दिन अघिमात्र विराटनगरका व्यवसायी दिपक मुद्राले चाँदीको उद्योगको लागि चाँदी आयात खुला गर्ने माग पत्र गभर्नरलाई बुझाएका थिए ।

अहिले नेपाल राष्ट्र बैंकले दिपक मुद्राको विराटनगरमा रहेको टेक्नोजया उद्योगलाई आयातमा खुला गरी थोक खरिदमा काम गर्ने कम्पनीहरुलाई कोटा लगाउन खोजिएको हो कि भन्ने आशंका व्यवसायीहरुको छ । झापा दमक घर भएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र विराटनगरका व्यवसायी दिपक मुद्रा विच पुरानो चिनजानको कारण मुद्रालाई फाइदा हुनेगरी नीति ल्याउन खोजिएको आशंका व्यवसायीहरुको छ ।

गलत नीतिको मारमा व्यवसायी

राष्ट्र बैंकको गलत नीतिका कारण मधेसका नाकाबाट अवैध रुपमा चाँदीका गर–गहनाको चोरी पैठारी बढेको हो । मधेसका नाकाबाट भित्रिएको चाँदीका गहना देशका विभिन्न शहरका विक्रिवितरण भइरहेको सूनचाँदीको कारोवारीहरुले बताउछन् ।

स्रोतका अनुसार तीन बर्षअघि बार्षिक १ लाख ६७ हजार किलो चाँदी भंसारमा राजश्व तिरेर नेपाल भित्रिएको थियो । तर गत बर्ष २८ हजार किलो चाँदी मात्र बैधानीक मार्ग हुदै नेपाल भित्रिएको भंसार कार्यालयको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको भनाई अनुसार नेपालमा बार्षिक रुपमा न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुन्छ । सरकारले दुई बर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि नेपाली बजारमा भारतबाट अवैध मार्ग हुदै चाँदीका तयारी गरगहना र कच्चामाल भित्रिने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैकले समेत चाँदीको पैठारीमा कोटा प्रणाली लगाउदै नियन्त्रण गरेको कारण चोरी तस्करी हुदै नेपाली बजारमा आउने गरेको व्यवसायीहरुको गुनासो छ । बजारमा काँचो चाँदी अभाव भएपछि अवैध मार्ग भएर आएको चाँदीका गहना खरिद गरेर व्यवसाय चालउनु परेको न्यूरोडका एक व्यवसायीले गुनासो गरे । नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण व्यवसायीहरु दोहोरो मारमा परेको उनको भनाई थियो ।

राज्यको संरक्षणमा चाँदी तस्करी 

खुला सीमानाकाको फाइदा उठाउदै तस्करहरुले ठूलो परिमाणमा अवैधरुपमा चाँदीको तस्करी गर्दै आएका छन् । राज्यका विभिन्न निकायको संरक्षणमा अवैध मार्ग भएर चाँदी आउने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजश्व अनुसन्धान विभागका कर्मचारीको संरक्षणमा चोरी तस्करी बढन थालेको हो । नेपालमा चाँदीका गरगहना देखि आधुनीक डिजाइनका समान बनाउने कारखाना छैन । अहिले व्यवसायीहरुले भारतबाट चाँदीका तयारी गरगहना अवैध मार्ग हुदै ल्याउने गरेका छन् ।

चाँदीका गहना चोरी मार्ग हुदै नेपाल भित्रिएको सूचना राज्यका विभिन्न निकायलाई छ तर उसले रोक्न चाहदैन् । एक व्यवसायीका अनुसार प्रहरीकै संरक्षणमा चाँदी भारतका विभिन्न नाकाबाट नेपाल आउने गरेको छ ।

बार्षिक २ अर्ब राजश्व घाटा

नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद«ाको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।

जसले गर्दा एउटा आयातकर्ताले प्रति पटक जम्मा ६० के.जी. सम्म आयात गर्न सक्नेछ । नेपालमा चाँदी आयातकर्ताहरुको सँख्या ७ देखि ९ सम्म रहेको छ । जसले गर्दा अहिलेको माग अनुसारको चाँदी आयात हुन नसकेकोले धेरै चाँदीका गरगहना र सजावटका सामानहरु बनाउने उद्योग तथा कारखानाले नियम विपरित विभिन्न विचौलियाहरुबाट चाँदी किन्न बाध्य भएको बताउदै आएका छन् ।

बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ । सरकारको नीतिले अहिले बार्षिक २८ हजार किलो मात्र नेपालमा चाँदी आउने गरेको छ । जवकी नेपालको बजारमा अहिले पनि चाँदीको माग बार्षिक झण्डै २ लाख किलो छ ।


सम्बन्धित समाचार