Logo

५ जेठ,वीरगञ्ज । विगत केही दिनयता पर्सालगायत तराई मधेशका जिल्लामा गर्मी अत्याधिक बढ्दो छ । अत्याधि गर्मी र नियमित चलिरहेको तातो हावाका कारण तराई मधेशका नागरिकको जनजीवन अस्तव्यस्त बनाएको छ ।

गर्मी र तातो हावा ‘लू’ का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यसबाट सबैभन्दा बढी बालबालिका, वृद्ध प्रभावित भएका छन् । अत्याधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएका वीरगञ्जको नारायणी अस्पतालले जनाएको छ ।

हाल उपचारका लागि अस्पताल पुग्नेमा बालबालिका र वृद्धको सङ्ख्या नै रहेको चिकित्सकहरुले जनाएका छन् । नारायणी अस्पतालमा फिजिसियन डा. सरोज रोशन दासले गर्मीकै कारण अस्पतालमा आउने बिरामीको सङख्या ह्वात्तै बढेको बताए । उनका अनुसार अहिले अस्पतालको ओपिडीमा १०० जना सम्म सेवाग्राहीहरु भाइरल ज्वरो, रुघखोकी लगायत चेकजाँच गराउन आउने गरेका छन् ।

धेरैजसो बालबालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको समस्या देखिएको उनले जनाए । डा. दासले विशेषगरी बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी परेको पाइएको जिकिर गरे । बालबालिकालाई घरबाट बाहिर निस्कन नदिने, सकेसम्म मास्क लगाइदिन, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने र झोलिलो पदार्थ खुवाउन सुझाव दिए ।

यस्तै घर बाहिर घाममा काम गर्ने मजदुर, रिक्सा तथा ठेला चालकहरुले समेत गर्मीका कारण मारमा परेका छन् । उनीहरुलाई समेत बेलाबेला शरिर पुस्न, पानी प्रशस्त पिउन, सुतिको कपडा लगाउन र समयसमयमा आराम गर्दै काम गर्न चिकित्सहरुले आग्रह गरेका छन् ।


सम्बन्धित समाचार