Logo

६ जेठ,ठोरी । पर्साको ठोरी गाउँपालिकाले हाट बजार प्रवर्द्धनमा सक्रीयता देखाउँदा शनिबारदेखि विजयवस्तीमा लामो समयदेखि बन्द शनिबारे हाट बजार पुनः सन्चालनमा आएको छ । कोभिड पछि बन्द सो हाट बजार सन्चालनमा आएसँगै ठोरी गापाको वडा नं ४ र ५ मा मात्र ४ दिन हाट बजार सन्चालन हुने भएको छ ।

गाउँपालिकाको वडा नं १ सरस्वती चोकमा रहेको हाट बजार बन्द भएको लामो समय हुँदा समेत सन्चालनमा आउन सकेको छैन । यस्तै २ र ३ वडामा हाट बजार सन्चालन भएका छैनन्। वडा १,२ र ३ का स्थानीय सिमावर्ती भिखना ठोरीको बजारमा नै किनमेल गर्छन्। यता पालिकाको ४ र ५ वडामा हरेक साताको आइतवार वडा ५ को सुवर्णपुर चोकमा र बिहिबार सोही वडाको बाघमोर्चमा साप्ताहिक हाट लाग्ने गरेको छ । यस्तै वडा ४ को आठघरेमा हरेक मङ्गलबार र विजयवस्तीमा हरेक शनिबार हाट लाग्न थालेको छ । आठघरे र विजयवस्तीमा हाट बजार सन्चालन गर्न पक्की संरचना नै पालिकाले निर्माण गरेको छ ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ साप्ताहिक हाट बजार सुरु गरेको भएपनि छिटपुट बाहेक सिमावर्ती भरतीय व्यापारीकै यी हाट बजारमा रजगज चल्ने गरेको छ । ठोरीमा लाग्ने हाट बजारमा भारतीय तरकारी व्यापारीहरुले महँगोमा तरकारी बेच्दै आइरहेका छन्। एकातिर विषादी परीक्षण गर्ने कुनै संयन्त्र छैन भने अर्कोतर्फ बिरगंज र जीतपुरको भन्दा पनि महँगो मुल्य तिर्न यहाँका स्थानीयहरु बाध्य भएका छन्।

स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले साप्ताहिक बजार लगाउनु राम्रो भएपनि भारतीय व्यापारीलाई मात्र फाइदा पुगेको नाम नबताउने शर्तमा एक जना नेपाली व्यापारीले गुनासो व्यक्त गर्नुभयो । उहाँका अनुसार भारतीय व्यापारी घरघरमा समेत पुग्ने भएकाले नेपालीलाई व्यापार गर्न नै कठिन छ । भारतीय व्यापारीको मिलिभगतमा हाट बजारमा मुल्य कायम निर्धारण हुन्छ । नियामक निकायले चासो नदेखाउँदा बजारको मुल्य बिरगंजको भन्दा पनि दोब्बर हुने गरेको स्थानीयको गुनासो छ । बिरगंजमा काउलीको मुल्य प्रति केजी ४० हुँदा ४ ठोरीका हाट बजारमा प्रति केजी ७० सम्म मुल्य तिर्नुपर्छ । यस्तै टमाटर ,बन्दा , बोडी , मुला लगायतका तरकारीमा पनि बिरगंजको खुद्रा मुल्य भन्दा २० देखि ४० रुपियाँ सम्म प्रतिकेजी मुल्यमा फरक पर्ने गरेको छ । ठोरीका सबै हाट बजारमा उही व्यापारीले व्यापार गर्ने भएकोले मुल्य एकैनासको हुने गरेको हो ।

विशेष गरेर हाट बजारमा स्थानीय अर्गानिक उत्पादनलाई प्राथमिकता दिएर व्यापार गर्नुपर्ने भएपनि ठोरीका हाट बजारमा स्थानीय उत्पादन भेट्नै नसकिने सुवर्णपुरका उपभोक्ता रन्जित कार्कीले बताउनुभयो । हाट बजारमा सजिलै तरकारी किन्न पाइने भएकोले अहिले स्थानीय स्तरमा तरकारी खेती नै हुन छाडेको छ । पहिले तरकारी लगाउन जाँगर लाग्ने गरेको भएपनि अचेल बजार लाग्न थालेपछि अल्छि लाग्न थालेको ठोरी –४ का पुराना तरकारी कृषक कान्छा तामाङले बताउनुभयो ।


सम्बन्धित समाचार