Logo

६ जेठ,वीरगञ्ज । पर्सा जिल्लाको तापक्रम अत्याधिक बढ्दो छ । आज जिल्लाको वीरगञ्ज महानगरपालिकाको अधिकतम तापक्रम ४२ डिग्री मापन भएको हो ।

पर्सामा केही दिनदेखि अधिकतम तापक्रम क्रमशः बढ्दै गएको पाइएको छ । दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत् अनियमितता हुँदा भने स्थानीयले सास्ती भोगी रहेका छन् । ४२ डिग्रीमाथिको चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत् कार्यालयले नियमितरुपमा विद्युत् आपूर्ति नगर्दा र झ्याप झ्याप बत्ती गइरहँदा सास्ती भोगेका हुन् ।

वीरगञ्जसहितका स्थानीय बासिन्दाहरूले विद्युत् कार्यालयले चर्को गर्मीमा पनि विद्युत् नियमित आपूर्ति नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् । विद्युत् कार्यालयले आफूखुसी लाइन काट्ने गर्दा र कहिले हाइ तथा कहिले कम भोल्टेज लाइन आउँदा अति नै मर्कामा परेको भिसवा निवासी सुनिता श्रेष्ठको गुनासो छ ।

बत्ती आउने जाने गर्दा र लामो समयसम्म बिना जानकारी बत्ती काटिँदा होटेलमा सुत्ने पाहुनाहरुलाई अत्यन्तै समस्या परेको उनले बताइन् । झ्याप झ्याप बत्ती आउने र जाने गर्दा एअरकन्डिसनर, फ्रिज, कुलरलगायतका विद्युतीय उपकरणहरू बिग्रने गरेको उनको भनाइ छ ।

बिना जानकारी लोडसेडिङ गरेर गर्मीमा जनतालाई सास्ती दिएको भन्दै विद्युत् कार्यालयलाई तत्काल विद्युतको समस्या समाधान गर्न स्थानीयबासीको आग्रह छ ।


सम्बन्धित समाचार