Logo

८ जेठ,काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले १ करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित दुईटा ट्रक नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
जिल्लाका फरकफरक स्थानहरुबाट १ करोड ३९ लाख १३ हजार ४४२ रुपैँया बराबरका सामानसहित ट्रकहरु नियन्त्रणमा लिएको बताएको हो । खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर लगायतका सामान बरामद गरिएको पर्सा प्रहरी बताउँछ ।
विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियानको क्रममा उक्त मूल्य बराबरका सामानसहित २ वटा ट्रकहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको हो ।

दुबै ट्रकबाट १ करोड ३७ लाख ५८ हजार ८४२ रुपैँया बराबरका कपडा, औषधी तथा खुद्रा सामानहरूको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको डिएसपी थापाको भनाइ छ । यसैगरी वीरगञ्ज– १६ ईदगाह चोकबाट १ लाख ५४ हजार ६०० मूल्यका कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

बरामद सामानसहित ट्रकहरुमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार