Logo

८जेठ,वीरगञ्ज । चार दिन अगाडि बीरगन्जमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणको घटनामा संलग्नहरुमाथि कारबाहीको माग गर्दै पर्सा कांग्रेसले जुलुस निकालेको छ । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा माइस्थान घटनाको दोषीमाथि कारबाहीको माग गर्दै कांग्रेसले जुलुस निकालेको हो ।

बीरगन्जको माइस्थान चोकबाट निकालिएको जुलुस विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । त्यसपश्चात जुलुस जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारीलाई कांग्रेस कार्यकर्ता कुटनेमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

कांग्रेस जिल्ला सभापति सिंहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका हुन ।सिडिओलाई बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ, ‘ यही ४ गते मेयर राजेशमान सिंह विरुद्ध दर्ता मुद्दा र सहकारी ठगीमा छानविन समिति गठनको माग गर्दै नेविसंघले शान्तिपूर्ण प्रदर्शन गरिरहेको थियो, यहीक्रममा मेयर सिंहबाट परिचालित अराजक व्यक्तिहरुले कांग्रेसी कार्यकर्तामाथि आक्रमण ग¥यो । जुन निन्दनीय छ, हामी त्यसको भत्सर्ना गर्दछौं । त्यसकारण यी घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कारबाही होस ।’

कांग्रेस सभापति सिंहद्वारा जारी विज्ञप्तिमा लोकतन्त्रमा जुलुस प्रदर्शन गर्ने सबै अधिकार रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘शान्पिूर्णरुपमा विरोध गर्न पाउने संवैधानिक व्यवस्था छ, ‘तर यही व्यवस्थाको विरोधमा कांग्रेसी कार्यकर्ताहरुमाथि आक्रमण भएको छ । त्यसकारण दोषीमाथि तत्काल कारबाहीको माग छ ।’

मेयर सिंह समर्थकहरुले गरेको आक्रमणबाट कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ( नेविसंघ) का जिल्ला अध्यक्ष रमेश यादव, उपाध्यक्षद्वय राहुल पटेल र बरकात अली, महम्मद नौसाद अली र जिल्ला सदस्य रामनिवास घाइते भएको कांग्रेस पर्सा जानकारी दिएको छ ।

२४ फागुनमा मेयर सिंहमाथि प्रहरीमा दर्ता भएको किर्ते मुद्दा प्रकरणमा कारबाहीको माग गर्दै क्षेत्रीय कांग्रेससहित नेविसंघले प्रदर्शन गर्दै आइरहेको छ । त्यही क्रममा यही शुक्रबार साँझ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महम्मद शहाबुदिनको नेतृत्वमा नेविसंघका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका थिए ।

कांग्रेस कार्यकर्ताहरुले निकालेको मसाल जुलुस पश्चात आयोजना गरेको कोण सभा कार्यक्रममा मेयर सिंह समर्थक र कांग्रेसी कार्यकर्ताबिच घम्साघम्सी भएको थियो । फर्जी विवरणको आधारमा अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै बीरगन्जमा ५ महिनादेखि लगातार प्रदर्शन हुँदै आइरहेका छन् ।


सम्बन्धित समाचार