Logo

९ जेठ,काठमाडौं । ३ जेठमा वीरगञ्ज पानीट्याङकीस्थित न्यू भवानी हेल्थ क्लिनिकबाट मान्छेको हात ‘साङगोले बाधेको फोटो सार्वजनिक भयो ।

लागरहेको थियो–उनी कुनै अपराधी हुन, जसलाई बाँधेर भाग्न नदिन खोजिएको छ । तर फोटो देखेर अनुमान गरे जस्तो नभएर उनी एक रोगको विरामी रहेको खुलासा भयो ।

चेकजाँचका लागि उनलाई त्यसरी बाधेर ल्याइएको अस्पतालले जानकारी दियो । अस्पतालका अनुसार उनी वीरगञ्जकै नगवा निवासी ३० वर्षका विरेन्द्र महतो थिए । लामो समयदेखि ‘सिजोफ्रेनिया’ नामक मानसिक रोगबाट उनी पीडित छन् ।

यो रोग लाग्दा समयमा ठीक ढंगले उपचार भएन भने विरामीको मानसिक सन्तुलन बिग्रिने सम्भावना उच्च रहने चिकित्सकहरु बताउँछन् । महतोको पनि उपचारमा समस्या आउँदा उनको मानसिक अवस्था बिग्रेको हुँदा उनलाई नियन्त्रणमा राख्नपर्नु बाध्यताले बाधिएको चिकित्सक बताउँछन् ।

मानसिक तथा नशा रोग विशेषज्ञ डा. भरत कुमार गोइतका अनुसार महतो अत्यन्त आक्रमक, चिच्याउँने, कराउने गर्थे । चेकजाँच गर्दा उनमा कडा प्रकारको ‘सिजोफ्रेनिया’ नामक रोग पत्ता लाग्यो ।

महतोको घटनाको भोलीपल्ट जेठ ४ गते एक नाबालिका पनि त्यही क्लिनिकमा आइन । बारा प्रसौनीकी प्रिती कुमारी, जो १४ वर्षकी कटेकी छन् । चिकित्सकका अनुसार उनी ‘साइकोसिस’ नामक कडा मानसिक रोगले ग्रसित छिन् ।

६ जेठमा पनि बिजय प्रसाद जाँच गराउन पुगे । वीरगञ्जकै मुर्ली निवासी २२ वर्षका बिजयलाई जाँच गराउँदा उनीमा ‘सिजोफ्रेनिया’ रोग देखियो ।

यी त प्रतिनिधि घटना मात्र हुन् । पर्सासहित मधेश प्रदेशका ८ वटै जिल्लामा मानसिक रोगीको संख्या उल्लेख्य छ । तर जिल्लाजिल्लामा मनोचिकित्सकको अभावका कारण बिरामीले झनै सास्ती खेप्नु परेको छ ।

वीरगञ्जमा मात्रै चेकजाँचका लागि आउने यस्ता बिरामीको सङख्या एक हजारको हाराहारीमा पुग्ने गरेको आंकलन छ । प्रदेशका फरकफरक जिल्लाहरु चितवन, बुटबल तथा भारतीय शहरहरुबाटसमेत वीरगञ्जमा बिरामीहरुलाई चेकजाँचका लागि ल्याइन्छ ।

रौतहटका एक बिरामीका आफन्तले भनिन्, ‘हाम्रो जिल्लाको अस्पतालमा मानसिक रोग सम्बन्धि चिकित्सक हुनुहुन्न । वीरगञ्जमा जाँच हुन्छ भनेर सुनेको थिए, बिरामीलाई मर्न छोड्न दिन त भएन नि, त्यहीकारण यहाँ आएका हौँ ।’ उनको बिरामीलाई पनि सिजोफ्रेनिया नामक मानसिक रोग छ ।

यस्तै सर्लाहीका अर्का एक जना बिरामीले भनिन्, ‘दिनभर थाकेर घर पुग्यो, खाना खाइवरी सकेपनि सुत्ने तरखर ग¥यो निन्द्रै लाग्दैन । छ्याङगैँ उज्यालो हुन्छ, त्यतिमात्रै हैन छटपटी, बेचैनीले केहि गर्न मनै लाग्दैन । साह्रै गाह्रो भयो जुनकारण पत्ता लगएर बीरगन्ज आइयो ।’

आफू वरपरको कुनै सरकारी अस्पतालमा मनोचिकित्सक नहुनु दुखद विषय भएको उनको भनाइ छ । उनीहरुको बोलीबाट पनि स्पष्ट बुझ्न सकिन्छ प्रदेशमा जिल्लाहरुका अस्पतालमा मानसिक रोग सम्बन्धि चेकजाँच गर्ने चिकित्सकको अभाव छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, न्यू भवानी अस्पताल र चित्रान्स फार्मेसीमा मात्र मनोचिकित्सकहरुले चेकजाँच गर्ने गरेका छन् । उक्त अस्पतालका चिकित्सकहरुले दिएको जानकारी अनुुसार महिनाभर फरकफरक स्थानहरुबाट ८०० देखि ९०० जना रोगीहरु उपचारका लागि आउने गर्दछन् ।

८ वटै जिल्लाका सरकारी अस्पतालमा मनोचिकित्सकको अभाव छ । अस्पतालमा मानसिक रोगीको उपचारका लागि मनोचिकित्सक नहुँदा मानसिक स्वास्थ्यसम्बन्धी देखिएका सामान्यदेखि कडा खालका रोगीहरु समेतले निजी अस्पतालमा चर्को शुल्कमा उपचार गराउन बाध्य छन् ।

सरकारी अस्पतालमै छैनन्

मधेश प्रदेशमा रोगीको अवस्था बढ्दो भएपनि कुनै पनि सरकारी अस्पतालमा मनोचिकित्सकको भने व्यवस्था छैन । जसकारण बिरामीलाई उपचार गराउन निजी अस्पताल तथा क्लिनिकहरुमा जान बाध्य छन् ।

वीरगञ्ज महानगरपालिकाको नारायणी अस्पतालमा समेत मनोचिकित्सकको दरबन्दी छ । तर डाक्टर भने छैनन् । लामो समयदेखि मानसिक रोगीको उपचारको लागि अस्पतालमा मनोचिकित्सकको अभाव रहेको चिकित्सकहरुले बताएका छन् ।

सरकारी अस्पतालमै विशेषज्ञ डाक्टर नहुँदा फिजिसियन डाक्टरहरुले नै सेवा प्रवाह गर्दै आइरहेका छन् । सामान्य खालका बिरामीलाई जाँच गर्ने र जटिल विरामीहरुलाई निजी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गर्ने गरेको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट चित्ररञ्जन साहले जानकारी दिए । विगत ३–४ वर्षदेखि नारायणी अस्पतालमा मनोचिकित्सक डाक्टर नभएको उनले बताए ।

उनले भने, ‘३÷४ वर्ष भयो अस्पतालमा डाक्टरको अभाव छ, एकवर्ष अगाडि एकजना मनोचिकित्सक डाक्टर आउनुभएको थियो । तर उहाँ पनि सरुवा गराएर जानुभएको हो । उहाँ गएपछि नै मानसिक रोग विभाग खाली छ ।’

अस्पतालमा मनोरोगीका लागि १० शय्या सहितको वार्ड छुट्टाइएको भएपनि डाक्टरहरुको अभावमा उपचार सेवा रोकिएको उनको भनाइ छ । डाक्टरहरुको अभावका कारण प्रदेशभरकै सरकारी अस्पतालहरुमा मानसिक रोग विशेषज्ञहरुको अभाव भएको उनको भनाइ छ ।

अस्पतालमा मानसिक समस्याले गुर्जिएर आएका बिरामीलाई समेत फिजिसियनले हेर्नुपर्ने अवस्था रहेको डा. साहले स्विकारे ।

के भन्छन् मनोचिकित्सक ?

मानसिक रोग जटिल समस्या भएकाले यसलाई अवज्ञा गर्न नहुनेमा मानसिक तथा नसा रोग विशेषज्ञहरुले बताउँछन् । त्यसका लागि मधेश प्रदेशमा अस्पतालको व्यवस्था हुनुपर्ने डा.गोइतको धारणा छ ।

उनका अनुसार सर्वप्रथम त प्रदेशका जिल्लाहरुका अस्पतालहरुमा मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टरहरुका लागि दरखास्त आह्वान गर्नुपर्छ छ । त्यसपछि अस्पतालहरुमा औषधीको व्यवस्था गर्नुपर्ने, हरेक औषधीलाई इन्स्योरेन्समा उपलब्ध गराउनुपर्ने उनी बताउँछन् ।

आफ्नै क्लिनिकमा समेत कतिपय मानसिक रोगले ग्रसित बिरामीलाई फिजिसियनले उपचार गरेको देखिएको बताउँदै उनले यस कारणले झनै बिरामीको स्वास्थ्यमा थप समस्या निम्तिने गरेको खतरा रहेको उनको भनाइ छ ।

उनले भने, ‘मानसिक रोग आफैँमा भयावह छ, तर फिजिसियनहरुले भिटामिन लेखेको जस्तै रोगीका लागि औषधी लेखिदिने गरेका छन् । जसले गर्दा बिरामीलाई झनै् च्याप्दो रहेछ । आत्महत्या बढ्नुको कारण यो पनि प्रमुख कारण हो जस्तो लाग्छ ।’

स्थानिय, प्रदेश र केन्द्रीय सरकारले मानसिक रोगलाई नियन्त्रण गर्नकै लागि सचेतनामूलक कार्यक्रमहरु ल्याउनुपर्नेमा उनको जोड छ ।


सम्बन्धित समाचार