Logo

१० जेठ,काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर पैदल हिडेँका मधेशवासी आज राजधानी काठमाण्डौँ पुगेका छन् । मधेश प्रदेशको सप्तरीदेखि पैदल यात्रामार्फत २३ जनाको टोली काठमाण्डौँ पुगेको हो ।
बैशाख १७ गतेदेखि निरन्तर पैदल यात्रामा हिडेँको उनीहरु २५ औँ दिनमा काठमाण्डौँ पुगेका हुन् ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।

चुरे दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुकेको जनाउँदै चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आफूहरुको पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्ने रहेको बताए । चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’ लगायतका नारा उल्लेख गरेका छन् । यादवले आफूहरु १२ बुँदे माग बोकेर काठमाडौं आएको सुनाए ।
अघिल्लो वर्ष पनि यही माग बोकेर ११ दिन हिँडेर काठमाडौं आएर सहमति गरेको तर सरकारले सहमति पालना नगरेपछि आफूहरु फेरि आन्दोलित हुनुपरेको यादवले बताए ।


सम्बन्धित समाचार