Logo

१० जेठ, वीरगञ्ज । नेपाल र भारतको द्विपक्षीय विकासका लागि बहुआयामिक पारवहन सञ्जाल महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । पीएचडी चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज भारत नेपाल सेन्टरले वीरगन्जमा बिहीबार आयोजना गरेको ‘मल्टिमोडेल लजिष्टिक एण्ड कनेक्टिभिटी समिट २०२४’ मा सहभागीहरुले यस्तो आवश्यकता औल्याएका हुन् ।

कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत इश्वरराज पौडेलले नेपाल र भारतबीचको सदियौंदेखिको ऐतिहासिक पारस्परिक सम्बन्ध मात्रै नभई पछिल्लो समयमा भएको समयमा भारतले गरेको विकास र नेपालसँगको व्यापार सम्बन्धले थप महत्व बढाउदै गएको बताए ।

उहाँले भारतसँग द्विपक्षीय विकासका लागि भएको विभिन्न सम्झौताहरुहरुले थप उत्साहित बनाएको बताउदै आयातमा आधारित अर्थतन्त्रले नेपालको भारतसँगको ठूलो व्यापार घाटा रहेपनि भारतको नेपाल एउटा राम्रो व्यापारिक साझेदारको रुपमा रहेको जानकारी दिए । वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत देवी सहाय मीणाले नेपाल भारतबीचको सबन्ध अन्योन्याश्रित रहेको र नेपालको आर्थिक विकासका लागि भारत सधैं सकारात्मक सहयोग रहने बताए ।

उनले नेपाल भू–परिवेष्ठित देश भएपनि तेश्रो मुलुकबाट आयात गर्नका लागि भारतीय भूमिबाट पारवहन सेवा सहजीकरण गरिएको बताए । भारतीय कन्टेनर निगमका क्लष्टर हेड विशाल डी पाटिलले नेपाल र भारत महत्वपूर्ण व्यापारिक साझेदार भएको र पारवहन सेवाको सञ्जाल अझ महत्वपूर्ण रहेको जनाए ।

लगानी वोर्डका कार्यकारी निर्देशक सुशील भट्टले विकास निर्माणको रुपान्तारणको चरणमा नेपाल रहेको जानकारी दिए । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी अधिकृत आशिष गजुरेलले पारवहन सञ्जालका लागि नेपालमा हाल ८ वटा बन्दरगाहहरु सञ्चालनमा रहेको र यसको भौतिक पूर्वाधार विस्तार र संरचना निर्माणमा पनि निरन्तर लागिरहेको बताए ।

शिखर सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद, उद्योगी जगदीश अग्रवाल लगायतले आफ्ना धारणा राखेका थिए ।

शिखर सम्मेलन अत्यन्त उपलब्धि मूलक रहेको र यसले नेपाल र भारतको उद्योग व्यापारको विकास र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको पीएचडी चेम्बर अफ कमर्स इण्डिया नेपाल सेन्टरका सचिव अतुल ठाकुुरले बताए ।


सम्बन्धित समाचार