Logo

१२ जेठ, वीरगञ्ज । पर्सा जिल्लामा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनको तयारी पूरा भएको छ ।

यही ज्येष्ठ १३ गते (भोली) देखि २६ गतेसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ अभियानको पहिलो चरण तयारी सम्पूर्ण पूरा भएको हो । स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको आइपीभी खोप अभियान २०८१ बारे अभिमुखिकरण गोष्ठीमा यसबारे जानकारी गराएको हो ।

जिल्लामा राष्ट्रिय खोप अभियान–२०८१ दुई चरणमा हुने जनाइएको छ । कार्यालयका अनुसार यो खोप लगाउने उमेर समूहका ३१ हजार ८१२ जना बालबालिका छन् । स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरका अनुसार पहिलो चरणअन्र्तगत १५ हजार ९८५ जना बालबालिकालाई आइपीभीविरुद्धको खोप लगाइने छ ।

पहिलो चरण अन्र्तगत ज्येष्ठ १३ गते (भोली) देखि ज्येष्ठ १६ गतेसम्म वीरगंज महानगरपालिकाका वडा नं. १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, पकहामैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, ठोरी गाउँपालिका र कालिकामाई गाउँपालिका गरी जम्मा ८ पालिकामा बालबालिकालाई यो खोप अभियान लगाइने कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो चरण अन्र्तगत ज्येष्ठ २३ गतेदखि २६ गतेसम्म १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाइनेछ । दोस्रो चरणमा वीरगञ्ज महानगरका १७ नम्बर वडादेखि ३२ नम्बरसहित पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका, गरी ७ पालिकाका बालबालिकालाई यो खोप लगाउने स्वास्थ्य कार्यालय पर्साको तयारी छ ।

कुन पालिकाबाट कति बालबालिका ?

जिल्लामा १४ वटा स्थानीय तहहरु छन् । तीमध्ये वीरगञ्ज महानगरकाको वडा नम्बर १–१६ सम्मका ६ हजार ६८३, ठोरीका ६६०, बिन्दबासीनीका १ हजार ३९०, छिपहरमाई १ हजार ४९५, पकाहामैनपुरका १ हजार १३०, बहुदरमाई २ हजार ३६५, धोबिनी १ हजार १२०, कालिकामाई १ हजार १४३, जिराभवानी ९२०, पर्सागढी २ हजार १८५, जगरनाथपुर १ हजार ४६५, सखुवाप्रसौनी २ हजार जनालाई यो खोप लगाइने उनले बताए ।

यस्तै पोखरीया १ हजार ९३३, पटेर्वासुगौली १ हजार २६८ र वीरगञ्ज महानगरका १७ देखि ३२ नम्बर वडासम्मका ६ हजार ८५८ जना गरी जम्मा ३१ हजार ८१२ जना बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने जानकारी उनले दिए । जिल्लाका ७०८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइनेछ । यसैगरि ७०८ स्वास्थ्यकर्मी र १ हजार ४१६ जना स्वयम्सेवक र ११२ जना ए.इ.एफ.आई टोली परिचालन गरिने स्वास्थ्य कार्यालय पर्साले जनायो ।

सरकारको यस अभियान अन्र्तगत २०७३ वैशाखदेखि २०७५ असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइनेछ । सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले सरकारले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार