१२ जेठ, वीरगञ्ज । विभिन्न संघ संस्थाले आज पर्सा र बाराको चार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पर्सामा वीरगन्ज युवा समाज, वीरगन्ज युथ कमिटि घडिअर्वा, सानो प्रयास वीरगञ्ज–२१ परवानीपुर र सशस्त्र प्रहरी बल ४० नम्बर गण हेडक्वाटर पिलुवा बाराले रक्तदानको आयोजना गरेको हो ।
वीरगन्ज युवा समाजले होटल मकालुमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला सहित ११० जनाले रक्तदान गरेका छन् । समाजका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको उपस्थित रहेको थियो ।
त्यस्तै खेलकुद महासंघ वीरगन्ज महानगर वडा नम्बर ५ कमिटिले आयोजना गरेको कार्यक्रममा ५ जना महिला सहित २८ जनाले रक्तदान गरेका छन् । महासंघका वडा कमिटिका अध्यक्ष राजु साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, खेलकुद महासंघ पर्साका सचिव संदीप बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यस्तै सानो प्रयास नामक संस्थाले परवानीपुरमा आयोजना गरेको कार्यक्रममा २ जना महिलासहित ६१ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर रिजर्भ गण हेडक्वाटरले बाराको पिलुवामा रक्तदान आयोजना गरेको छ । २३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । बारा र पर्साका फरकफरक स्थानमा आयोजित कार्यक्रमबाट २४० पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।