Logo

१३ जेठ, काठमाडौं । सुनचाँदी कारोवारमा संलग्न रहेका बहुसंख्यक व्यवसायीले नेपाल राष्ट्र बैंकले जारी गरेको कोटा प्रणालीको खारेज गर्नुपर्ने आवाज उठाउदै आएको समयमा नेपाल रत्न तथा आभुषण संघले सुन खरिदमा सिन्डिकेट र कोटा प्रणालीको पक्षमा बकालत गरेको छ ।

काठमाडौंबाट प्रकाशित एक दैनिक पत्रिकामा आइतवार विज्ञापन सूचना प्रकाशन गर्दै कोटा प्रणाली र सिन्डिकेटका पक्षमा नेपाल रत्न तथा आभुषण संघ रहेको स्पष्ट सन्देश दिएको छ । कोटा प्रणालीको कारण साना व्यवसायीले उनीहरुको माग अनुसार सुन वितरण गर्न सजिलो भएको भन्दै कोटा परिणाममा बृद्धिगरी सुनमा लगाइएको सिन्डिकेट कायमै राख्नु पर्ने धारणा संघको छ ।

संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले साना व्यवसायीलाई अपिल गर्दै नेपाल राष्ट्र बैंकबाट जारी सुन खरिद विक्री सम्वन्धी कार्यविधिले सिमित व्यापारीलाई मात्र फाइदा उठाउदै आएको र साना तथा खुद्रा व्यवसायीलाई आवश्यकता परेको समयमा सुन खरिद गर्न नपाउँदा व्यवसाय नै चौपट हुने स्थितीमा पुगेको जनाएका छन् ।

संघका वरिष्ठ उपाध्यक्षले जारी गरेको विज्ञापन सूचनालाई खण्डन गर्दै आइतवार नेपाल रत्न तथा आभुषण संघले समेत विज्ञापन सुचना मार्फत कोटा प्रणाली र सुन खरिदमा लगाइएको सिन्डिकेटको पक्षमा वकालत गरेको छ । संघले कोटा प्रणालीका कारण सुनको अवैध कारोवार नियन्त्रण भएको दावी गरेको छ ।

संघका अध्यक्ष सुमनमान ताम्राकारले सुनको अवैध कारोवार गर्ने माफियाहरुले मात्र सुनको कोटा प्रणालीको विरोध गरेको बताए । कोटा प्रणालीको कारण व्यवसायीहरुले समानुपातिक रुपमा सुन खरिदमा सहजीकरण भएको ताम्राकारको भनाई छ ।

संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघको सिफारिसमा सुन खरिद गनुपर्ने बाध्यतात्मक अवस्थाले गहना व्यवसायमा खुला प्रतिस्पर्धा हुन नसक्दा उपभोक्तालाई मर्का पर्दै आएको बताए । एकातिर बजारमा प्रतिस्पर्धा छैन अर्को तर्फ चाहिएको बेलामा व्यवसायीले काँचो सुन बैधानीक च्यानलबाट किन्न नपाउँदा कालोबजारीसँग खरिद गर्नुपर्ने परिस्थिती देखिएको गुप्ताको भनाई छ ।

संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरले विभिन्न कम्पनी मार्फत कोटा प्रणालीको सुन उठाउने गरेको र बजारमा अभाव भएको मौका पारेर धेरै फाइदा लिएर व्यवसायीलाई बेच्ने गरेको गुप्ताको आरोप छ । संघका २÷३ जना टाउँकेहरुले अवैध धन्दा चलाउनकै लागि कोटा प्रणाली राख्न खोजेको गुप्ताको भनाई छ । उनले कोटा प्रणालीको विरोध र सुन भित्रका माफियाँहरुको झण्डाफोर गर्दा आफूलाई कार्वाहीको डण्डा चलाइएकोले न्यायका लागि अदालतको शरणमा पुगेको बताए ।

नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरले राज्यले दिएको कानूनको परिधी भित्र रहेर आफूले व्यवसाय संचालन गरेको बताए । गुप्ताले आरोप लगाए जस्तो कुनै अवैध कारोवार नगरेको तुलाधरको भनाई छ । आफ्नो कारोवार बैध हो कि अवेध हो एक पटक चेकजाँच गर्न राज्यका निकायलाई आग्रह गर्छु उनले भने ।

नेपाल रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले सुनचाँदीमा लगाइएको कोटा तत्काल हटाउनु पर्ने बताए । उनले सरकारको गलत नीतिका कारण गहना उद्योग फस्टाउन नसकेको बताए । अन्य उद्योगहरुले सहज रुपमा कच्चा पदार्थ ल्याउन पाउँदा गहना उद्योगलाई किन रोक लगाइएको हो, सुनारले भने सरकारले बनाएको नीतिका कारण सुन बजारमा अवैध कारोवारले प्रश्रय पाएको छ, यसलाई नियन्त्रण गर्न कोटा प्रणाली हटाउनु पर्छ ।

यता सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुनको कोटा प्रणालीले सिमित व्यक्तिलाई मात्र फाइदा पुग्ने भएकोले कोटा प्रणाली तत्काल खारेज गर्न अर्थ मन्त्रीको ध्यानाकर्षण गरिएको बताए । कोटाले अवैध व्यापार मौलाएको छ, शाक्यले भने, “कोटा प्रणाली राज्य, व्यवसायी र उपभोक्ताको हितमा छैन ।”

सुनचाँदीमा लगाइएको कोटा प्रणाली बैज्ञानीक नभएको महासंघका अध्यक्ष शाक्यको भनाई छ । नेपाल राष्ट्र बैंकले बार्षिक ७ हजार ३ सय किलो खरिद गर्न पाउँने नियम लगाएको छ तर यो बर्ष ३ हजार किलो समेत आयात हुन सकेको छैन, शाक्यले भने “अनियन्त्रित भयो भने पो कोटा लगाउने होला तर तोकिएको कोटाको ४० प्रतिशत मात्र खरिद भएको अवस्थामा कोटाको के अर्थ ?”

कोटा प्रणालीको दुरुपयोग गर्दै सिमित व्यक्ति र व्यवसायीले यसको नाजायज फाइदा लिदै आएको शाक्यको भनाई छ । कोटाले व्यवसायी हित होइन कालोबजारी बढाएको छ, उनले भने । सिमित व्यक्तिको नियन्त्रणमा सुन रहदा चाडबाडको समयमा सुनको कालोबजारीबाट व्यवसायीले सुन खरिद गरेर व्यवसाय संचालन गरेको शाक्यको बुझाई छ ।

नेपालमा करिव १७ हजार सुनचाँदीको कारोवार गर्ने व्यवसायी रहेका छन । सुनचाँदी व्यवसायी आवद्ध रहेका विभिन्न ५ वटा महासंघ छन् । त्यस मध्ये सवै भन्दा ठूलो नेपाल सुनचाँदी व्यवसायी महासंघ हो । उक्त संघमा मात्र देशभरबाट करिव १३ हजार व्यवसायी आवद्ध रहेको संघले जनाएको छ । नेपाल रत्न तथा आभुषण संघमा करिव ४ सय सदस्य रहेका छन् ।

कुल सदस्यको ७० प्रतिशत व्यवसायी आवद्ध रहेको सुनचाँदी व्यवसायी महासंघले कोटा खारेज हुनु पर्छ भनेको अवस्थामा करिव ८ प्रतिशत सदस्य आवद्ध रहेको नेपाल रत्न तथा आभुषण संघले कोटाको पक्षमा वकालत गर्दै हिडेको छ । उक्त संघको नेतृत्वमा रहेका केही व्यक्तिले थोक विक्रेताको रुपमा बैंकसँगको मिलेमतोमा सुन उठाउने गरेको आरोप साना व्यवसायीको छ । आभुषण संघले दावी गरे जस्तो साना व्यवसायीहरु कोटा प्रणालीको पक्षमा नरहेको व्यवसायी ऋषी ठाकुरले बताए ।

एकातिर व्यवसायीले स्वतन्त्र रुपमा पेशा व्यवसाय संचालन गर्न नपाउँने र अर्को तर्फ सिमित व्यापारीलाई फाइदा पुग्नेगरी नेपाल राष्ट्र बैंकले कार्यविधि जारी गर्दा राज्यको राजश्वमा बर्षेनी ३६ अर्ब रुपियाँ नोक्सान हुर्दै आएको नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए ।

राज्यलाई नै अरबौं रुपियाँ राजश्व नोक्सान हुनेगरी ल्याइएको नीति खारेज हुनुपर्छ, वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, “यो नीति राज्यको हितमा छैन र व्यवसायीको हितमा पनि देखिदैन ।” सीमित व्यक्तिको फाइदाको लागि राज्यलाई नोक्सान हुनेगरी ल्याइएको नेपाल राष्ट्र बैंकको सिन्डिकेट नीतिलाई खारेज गरिनु पर्ने गुप्ताको भनाई छ ।

सुनचाँदी खरिद विक्री सम्वन्धि कार्यविधि २०६८ ले देशभर रहेका साना व्यवसायीलाई भन्दा पनि केही तस्कर माफियालाई मात्र फाइदा पुग्ने गरेको व्यवसायीको भनाई छ । राज्यलाई नोक्सान हुनेगरी नीति ल्याउने राष्ट्र बैंकका उच्च तहका अधिकारीमाथि समेत छानवीन हुनुपर्ने माग व्यवसायीले गरेका छन् ।


सम्बन्धित समाचार