Logo

१४ जेठ, वीरगञ्ज । वीरगञ्ज लगायत तराईका बारा, पर्सा, रौतहटको जनजीवन प्रभावित भएको छ । अत्यधिक उखमाउलो गर्मीकै कारण रौतहटमा एक जनाको ज्यान गएको छ ।

सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादव

रौतहटको बौद्धिमाई नगरपालिका–८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादव साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेको अवस्थामा बकैया नदीको पुलमा बेहोस भई ढलेको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकल रोकेर पुलमै छेउतिर ढलेका यादवको घटना स्थलमै मृत्यु भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थलमा पुगेको थियो । गर्मीका कारण स्कूले बालबालिका र मजदुरहरू बढी प्रभावित भएका छन् ।

वीरगञ्जका विद्यालयमा समेत बालबालिका बेहोस हुन थालेपछि अभिभावकहरूले विद्यालय केही दिनका लागि बन्द गर्न महानगरपालिकालाई आग्रह गरेका छन् ।

वीरगञ्जको तापक्रम सोमबार विहान ३४ डिग्री सेल्सियस मापन भएको छ । हिजो आईतबार वीरगन्जको तापक्रम ४४ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन अझ तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसैले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

चिकित्सकीय सुझाव
तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ । नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंहले तापक्रम बढेसँगै किटजन्य, पानीजन्य रोग र खाद्यजन्य रोगको जोखिम बढी हुने हुँदा सचेत रहन आग्रह गरे । चर्को घामले सामान्यदेखि जटिल स्वास्थ्य समस्या निम्तने भन्दै डा. सिंहले यस्तो आग्रह गरेका हुन् ।

उनका अनुसार तापक्रम बढेसँगै डेंगु, मलेरिया, कालाजार, झाडापखाला, तातो हावा ‘लु’ जस्ता स्वास्थ्य समस्या निम्तने गर्दछन् । यस्तो समस्याबाट बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित हुने हुँदा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

डा. सिंहका अनुसार तापक्रम बढ्दा थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्र आउने, बेहोस हुने, मांसपेशी दुख्ने, वान्ता हुने, झाडापखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछन् ।

बच्ने उपाय
गर्मीबाट बच्न खेत बाहिर वा खेतबारीमा काम गर्दा बिहान वा बेलुका गर्न डा. सिंहको सुझाव छ । सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कने, निस्कनै परे चिसो पानीले नुहाएर, छाता ओढ्ने, पातलो कपडा टाउकोमा राख्ने, पुरा शरीर छोप्ने हल्का सुतीको लुगा लगाएर मात्र निस्कनु राम्रो हुने उनको भनाइ छ ।

क्याफिनले स्वास्थ्यमा असर पु¥याउने हुँदा चिया, कफी, सोडा, चिनीको मात्रा बढी भएका पेय पदार्थ नपिउन उहाँले अनुरोध गर्नुभयो।

यस्तो समस्याबाट बच्न प्रशस्त पानी पिउन चिकित्सकको सुझाव छ । गर्मीबाट बच्न बेलबेला कागती पानी, नरिवलको पानी तथा फलफूलको रस पिउन डा. सिंहले आग्रह गरे ।

डा. सिंह भन्छन्, ‘यस्ता समस्याबाट बच्न घरमा नै बनाएको ताजा खानेकुरा खाने, जहाँ पायो त्यही खानेकुरा नखाने, सफा पानी पिउने, धूम्रपान तथा मदिरा सेवन गर्नुहुँदैन ।’’

अत्यधिक तापक्रमले मुटुको चाल तीव्र भएमा, श्वासप्रश्वासमा समस्या भएमा, रक्तचाप कम भएमा, शरीरबाट पसिना नआएमा, टाउको अत्यधिक दुखेमा, चक्कर लागेमा, ज्वरो आएमा बिरामीलाई तुरुन्त अस्पतालमा लैजान उनको सुझाव छ ।

बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत डा. सिंहको आग्रह छ ।


सम्बन्धित समाचार