Logo

१५ जेठ,जनकपुरधाम । नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ ।

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको जनकपुरधामस्थित काब्या अस्पतालका एक चिकित्सकले बताए । ‘उहाँले काठमाडौंमा नियमित उपचार गराइरहनु भएको रहेछ’, ती चिकित्सकले भने, ‘स्वास्थ्य अवस्था हेर्दा उहाँलाई काठमाडौं लगेर उपचार गर्नु जरुरी रहेको कुरा बताएका छौँ ।’

प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी अहिले जनकपुरधामस्थित काब्या अस्पतालमा रहेका छन् । चिकित्सकले पनि काठमाडौं लैजान भनेपछि अहिले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानुनी परामर्शका लागि छलफल भइरहेको छ ।

प्रहरीले सरकारी वकिलसँग पनि परामर्श गरेपछि सिरोहियालाई काठमाडौं पठाउने निर्णय हुने छ । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ । सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो । अदालतले सिरोहियालाई उपचारका लागि अन्यत्र लैजान मिल्नेगरी आदेश दिएसँगै मंगलबार नै काठमाडौं लैजाने तयारी भएको हो ।

अदालतले मंगलबारको आदेशमा स्वास्थ्य उपचार गर्न पाउने कुरा रोक्न नहुने जनाउँदै सुविधायुक्त ठाउँमा लैजाने गरी बाटो खोलिदिएको थियो । त्यहीअनुसार काब्या अस्पतालका चिकित्सकले पनि सिरोहियाला उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका हुन् ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई काब्या अस्पतालबाट एम्बुलेन्सबाटै जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो । अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ । यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत मंगलबार उनलाई कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा लगिएको थियो । त्यसपछि उनी धनुषा प्रहरीको हिरासत हुँदै काब्या अस्पतालमा भर्ना भएका थिए ।


सम्बन्धित समाचार