Logo

१६ जेठ, वीरगञ्ज । वीरगञ्जमा छुरा प्रहारबाट एक किशोरी घाईते भएकी छिन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई टोलमा बस्दै आएकी १८ वर्षिया किशोरी माथि छुरा प्रहार भएको हो ।

उनलाई एक अज्ञात व्यक्तिले गएराति छुरा प्रहार गरेर फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले छुरा प्रहारबाट घाईते भएकी किशोरीको नाम प्रिया यादव रहेको बताएको छ । उनी पकाहामैनपुर गाउँपालिका वडा १ धोरे निवासी हुन् । उनी वीरगन्ज राधेमाईमा डेरा लिएर बस्दै आएकी छिन् । उनी छुरा प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताईन् ।

‘यादव बाटोमा हिँडी रहेकी थिईन् । एक्कासी एक अपरिचित व्यक्ति आएर उनी माथि छुरा प्रहार गरे । त्यसपछि प्रतिकारमा यादव चिच्यापछि छुरा प्रहार गर्ने व्यक्ति त्यहाँबाट फरार भए’ प्रत्यक्षदर्शीले बताए ।

घटना मंगलबार राति करिब साढे ८ बजेको हो । छुरा प्रहारबाट घाईते भएकी यादवको उपचार वीरगञ्जको तराई हस्पिटलमा भईरहेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मजङ्ग थिङ्गका अनुसार घाईते यादव कक्षा १० मा पढ्छिन् । उनले भने ‘यादव छुरा प्रहार गर्ने व्यक्तिलाई पनि चिनिरहेकी छैनन् । ती व्यक्ति फरार छन् र खोजी कार्य भईरहेको छ ।’

प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उनी यस घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएर सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक केशर न्यौपानेले बताए ।


सम्बन्धित समाचार