Logo

१६ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक किशोरीमाथि छुरा प्रहारको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मंगलबार (हिजो) राती वीरगञ्ज महानगरपालिका एक किशोरीमाथि भएको छुरा प्रहारको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी केशर कुमार न्यौपानेले जनाए । वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले घटनामा संलग्न रहेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए ।

गएराती वीरगञ्ज– १३ राधेमाई टोलमा एकजना किशोरीमाथि अज्ञात व्यत्तिले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी १८ वर्षीया प्रिया यादव घाइते भएकी छन् ।

सडकमा हिडिरहेको समयमा प्रियामाथि अचानक छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने व्यक्तिलाई आफूले नचिनेको उनको प्रतिक्रिया छ ।वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मजङ्ग थिङ्गका अनुसार प्रिया कक्षा १० मा अध्ययनरत छिन् । छुरा प्रहार गर्ने व्यक्तिलाई आफूले नचिनेको प्रियाले प्रहरीलाई बयान दिएको प्रहरी निरिक्षक थिङ्गले बताए ।

छुरा प्रहारबाट घाइते किशोरीको वीरगञ्जकै तराई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । उनको घाटी पछाडीको भागमा ३ वटा टाँका लागेको पर्साका डिएसपी न्यौपानेले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार