Logo

१७ जेठ, वीरगञ्ज । तराईमा तापक्रम बढेर अत्यधिक गर्मी हुन थालेपछि बाराको कलैयामा उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालय शुक्रबार (भोलि) सम्म लागी बन्द भएका छन् ।

गर्मीका कारण बालबालिकालाई सास्ती हुन थालेपछि जेठ १७ (आज) र १८ गते (भोलि) गरि दुई दिन उपमहागनर अन्तर्गतका सबै निजी तथा सरकारी विद्यालय बन्द गरिएको हो ।

गर्मीका कारण विद्यालयमा बालबालिकाहरु बेहोश हुन थालेको खबर पाउने वितिकै यस्तो निर्णय गरिएको कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख प्रहलाद प्रसाद वर्णवालले जानकारी दिए ।

गर्मीबाट बालबालिकामा हुने नकरात्मक प्रभावलाई मध्यनजर गर्दै अहिलेलाई दुई दिन बन्द गरिएको र पछि आवश्यक परे गर्मी विदा थप गर्न सकिने उनले बताए ।

आईतबारबाट विहानी कक्षा संचालन गर्न सकिने शिक्षा शाखा प्रमुख वर्णवालले जानकारी दिए । अर्को सूचना जारी नभए आईतबारबाट विहान साढे ६ बजे देखि विहान साढे ९ बजे सम्म पठापाठन गराउन सकिने उनले बताए ।

उनले भने ‘आईतबार बिद्यालय खुल्छ तर अर्को सुचना जारि नभएसम्म सबै विद्यालयमा बिहान ६ः३० देखि बिहान ९ः३० बजेसम्म कक्षा सञ्चालन गर्न सकिन्छ ।’

गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना हुनुका साथै खासगरी बालबालिकामा गर्मीका कारण स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भएको हुँदा सहजताका लागि बिदा घोषणा गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बताए ।

उनले “निजी तथा सरकारी विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीको चाप पनि घटेको हुँदा बिदा दिनुपरेको हो ।”

तराई–मधेसका जिल्लामा ४२ डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको थियो ।

कतिपय विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोस हुन लागेकाले बिदा स्वीकृत गरिएको शिक्षा शाखा प्रमुख वर्णवालले बताए ।

तातो हावा (लु) चलिरहेको हुँदा गर्मीका कारण बाराको जनजीवन कष्टकर बनेको छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ ।

यस्तो समयमा घरबाट निस्कन निकै नै समस्या हुने गरेको छ । अहिले सडकपेटी, हाटबजार लगायत स्थान प्रायः सुनसान देखिएका छन् ।


सम्बन्धित समाचार